काठमाडौं १७ साउन । नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवार पठाउने तयारी गरेको छ । यसको औपचारिक निर्णय भोलि हुनेछ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन बाध्य पारेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भिड्न एमालेले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवार पठाउने तयारी गरेको हो ।
नेकपा एमालेका सांसद एवं व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले प्रधानमन्त्री पदको लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई अघि सार्ने खुलासा गरे ।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने- ‘हाम्रो पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वभाविक रुपमा उपनेता अघि सर्नुहुन्छ ।’
उनका अनुसार उपाध्यक्ष वामदेव गौतमले प्रचण्डविरुद्ध उम्मेदवारी नदिने बताए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले नेम्वाङलाई उम्मेदवारी बनाउने तयारी गरेका हुन् । यसको औपचारिक निर्णय भोलि बस्ने बैठकबाट हुनेछ ।












प्रतिक्रिया