काठमाडौं, १६ साउन । सहमतीय सरकार बनाउन दिइएको समय आज सक्किन लाग्दा प्रमुख दलहरूले राजनीतिक परामर्श थालेका छन् ।
यसै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार बिहान भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले सहमतीय राजनीतिमा ध्यान दिन आग्रह गर्नुभएको हो ।
यसअघि राष्ट्रपति भण्डारीले दलहरूलाई सात दिनभित्र सहमतीय सरकार बनाउन संवैधानिक व्यवस्थाअनुसार समय दिनुभएको थियो ।
सात दिनको समय आज सकिदैछ । समय सकिँदै गर्दा कुनै पनि दलले सहमतीय सरकार बनाउन दाबी पेश गरेका छैनन् । सहमतीय सरकार बन्ने कुनै संकेत पनि छैन ।
संविधानको धारा २९८ को उपधारा २ बमोजिम सहमतिका आधारमा सरकार गठन हुन नसकेपछि त्यसपछि बहुमतीय सरकार निर्माणकै दिशामा जानुपर्छ ।
माओवादी केन्द्र, कांग्रेसको नयाँ गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको छ ।
दाहालको पक्षमा अहिलेसम्म मधेसी मोर्चा, राप्रपा, नेकपा संयुक्त, अखण्ड नेपाल पार्टी, दलित जनजाति पार्टीसहितका करिव ३३५ सदस्यभन्दा बढीले समर्थन गर्ने देखिएको छ ।











प्रतिक्रिया