काठमाडौं, ७ साउन । नेकपा एमालेको संसदीय दलको उपनेता सुवास नेम्वाङले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना विरुद्ध आफैले अविश्वासको प्रस्ताव पेस गरेको तर्क गरेका छन् ।
व्यवस्थापिका संसदमा माओवादी केन्द्र र नेपाली कांग्रेसले पेस गरेको अश्विासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेम्वाङले सरकार सञ्चालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक प्रचण्डले सरकारविरुद्ध पेस गरेको प्रस्ताव आफ्नोविरुद्ध आफैले अविश्वासको प्रस्ताव भएको बताए ।
‘२८ गतेसम्म त्यही सरकारमा बस्ने । २९ गते त्यही सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने यो कस्तो व्यवस्था हो,’ प्रश्न गर्दै उनले भने- ‘सरकारलाई सुझाव तथा निर्देशन गर्ने निकायको प्रमुख उहाँ नै हुनुहुन्छ । अहिले सरकारविरुद्ध प्रस्ताव पेस गर्ने व्यक्ति पनी उहाँ नै हुनुहुन्छ । मलाई त लाग्छ यो त आफ्नोविरुद्ध आफैले प्रस्ताव पेस गरे ।’
अविश्वासको प्रस्तावले देशलाई कतै अप्ठ्यारोमा त पार्दैन भनेर जनता चिन्तित भएको भन्दै हामीले यसको जवाफ दिनुपर्ने उनको भनाई छ ।
के नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याइएको हो ?
अविश्वासको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण र बेठिक भएको भन्दै नेम्वाङले प्रधानमन्त्री ओलीले नाकाबन्दीको अवस्था हटाउनेलगायत मुलुकलाई समृद्धि गराउने काम गरेको तर्क राखे । के नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याइएको हो ? भनी प्रश्न गर्दै उनले सरकारका कमीकमजोरी नहोस् र सरकार ठिक दिशामा सञ्चालन होस् भन्नका लागि उच्चस्तरीस्य राजनीतिक संयन्त्रका संयोजक र अविश्वासको प्रस्तावको पहिलो हस्ताक्षरकर्ता पनि पुष्पकमल दाहाल नै हुनु युक्तिसङ्गत नभएको बताए ।
शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने दायित्व सरकारमा सहभागी माओवादी केन्द्रको पनि भएको जनाउँदै उनले संविधान बन्यो र ओलीको नेतृत्वमा सरकार बन्यो भनेर खुसी मान्ने जनता अहिले दुःखित भएको टिप्पणी गरे ।













प्रतिक्रिया