काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेक स्वास्थ्य मन्त्रिस्तरीय बैठकमा सहभागी भई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता स्वदेश फर्किएकी छन् ।.
मन्त्री मेहता बिहीबार मध्यान्ह स्वदेश फर्किएकी हुन् ।
स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मेहताले बिमस्टेक सदस्य राष्ट्रहरूमा स्वास्थ्य सेवालाई कसरी अगाडि बढाउने, जलवायु परिवर्तनका स्वास्थ्यसम्बन्धी एजेन्डा तथा पारस्परिक चिकित्सालाई प्रवर्द्धन र विकास गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिइन् ।
बिमस्टेकमा आबद्ध देशहरूले क्षेत्रीय रूपमा स्वास्थ्य क्षेत्रलाई सबल बनाउने भन्ने बारेमा पनि छलफल भएको उनले जानकारी दिइन् ।
उनले बैठकसँगै श्रीलंकाका प्रधानमन्त्रीसँग भेटघाट हुनुका साथै सातवटा सदस्य राष्ट्रबाट पुगेका स्वास्थ्य मन्त्रीहरूसँग साइड इभेन्टहरू भएको बताइन् ।
क्यान्सर लगायतका घातक रोगका औषधिहरूको बेलाबेलामा हुने अभावलाई ध्यानमा राख्दै बंगलादेशसँग जी–टु–जी सहकार्यमार्फत औषधिको लागत घटाउने र यसको उपलब्धता सुनिश्चित गर्ने विषयमा पहल भएको उनले बताइन् ।












प्रतिक्रिया