– प्रकाश न्यौपाने
भैरहवा, ७ साउन । लगातारको अविरल वर्षापछि आएको बाढीका कारण ढुवानमा परेका ६७ जनालाई रुपन्देही प्रहरीले उद्धार गरेको छ ।
जिल्लाको बसन्तपुरबाट ७ जना र पट्खौलीबाट ६० जनाको उद्धार गरिएको हो । वर्षापछि गाउँमा बाढी पसेपछि उनीहरु सुरक्षित स्थान खोज्दै रुख तथा घरको छतमा आश्रय लिएका थिए । बिहीबार रातिदेखि रुख र घरमा आश्रय लिएका उनीहरुलाई शुक्रबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको रुपन्देही प्रहरी प्रवत्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । बसन्तपुरबाट निरकेवल चमार, दुखी केवट, पूर्णवासी केवट, मात्रिका नाउ, सुनिता केवट, सामदुलारी केवट र कोल्यिा नाउँलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको कार्कीले बताए ।
पछिल्लो २४ घण्टामा देशमा सबैभन्दा बढी जिल्लाको भैरहवा क्षेत्रमा १ सय २३ मिलिलिटर वर्षा भएको जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाले जनाएको छ । लगातार वर्षाका कारण यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । जिल्लाका अधिकांश क्षेत्रहरु डुबान परेको छन् । केही कार्यालयहरु पनि जलमग्न भएका छन् ।
भैरहवामा निर्माणाधीन सडक तथा नालीको काम सम्पन्न नहुँदा नगरका जनकपथ, विपीपथ, ज्योतिपथ, अन्नपूर्णटोल, लुम्बिनीरोड, हाटबजार क्षेत्र, पक्लिहवा रोड, आँखा अस्पताल, बेलहिया, शान्तिनगर, गल्लामण्डी, भानुपथ, रुद्रपथ, मायादेवी तरकारी बजार, भिमकालीपथ, बैंककलोनी लगायत नगरको ८० प्रतिशत भूभाग डुवानमा परेको छ ।

वर्षाका कारण भैरहवा क्षेत्र जलमग्न हुँदा आवजावतमा समस्या परे पनि मानवीय तथा भौतिक क्षति भने भएको छैन । तर जिल्लाका दक्षिणी ग्रामणि क्षेत्रहरु मर्चवार, मर्यादपुर, बेतकुइया भने बाढीका कारण प्रभावित भएका छन् । जिल्लाको पट्खौली गाविस ५ स्थिती ३० वटा घर डुबान परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यी सुकुम्बासी बस्ती हुन् । बसन्तपुर गाविस ४ स्थित पनि केही घरहरु डुबानमा परेको छन् । भैरहवा–परासी सडकखण्ड अन्तर्गत रोहिणी नदीमा पानीको बहाव उच्च रहेको छ । यो सडकखण्डमा शुक्रबार सवारी साधान निकै कम चलेका छन् ।
बिहीबार रातिदेखि परेको अविरल वर्षामा अहिले भने केही सुधार आएको छ । ठाउँ–ठाउँमा जमेको पानीको सतह केही कम हुँदै गएपछि जनजीवन थोरै मात्रामा भए पनि सामान्य बन्दै गएको छ । तर मनसुन चापिय रेखा नेपाल (पहाड) को नजिक रहेकाले देशभर अझै वर्षा हुने अनुमान जलवायु तथा मौसम विज्ञान विभागको मौसम पूर्वअनुमान शाखाको अनुमान छ । शाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार– भैरहवा क्षेत्रको मौसममा सुधार आउन भने थप केही दिन लाग्ने छ ।
मनसुन चापीय रेखा नेपाल (पहाड) को नजिक रहेका कारण देशभर वर्षा हुने देखिएको उनले बताए । पश्चिम क्षेत्र अझै वर्षा हुने र आइतबार देखि न्युन वर्षा हँुदै मौसममा सुधार आउने छ । भैरहवा क्षेत्रमा प्रत्येक वर्ष जुलाई महिनामा औसतमा ५४५ दशमलव ६ मिलिलिटर वर्षा हुने गर्दछ । मौसम पूर्वअनुमान शाखाका अनुसार यो जुलाई महिनामा शुक्रबार दिउँसोसम्म (पछिल्लो २४ घण्टा) भैरहवा क्षेत्रमा ३ सय ८९ दशमलव २० मिलिलिटर वर्षा भएको छ । त्यस्तै गत जुन महिनामा औसतको ८३ प्रतिशत भैरहवा क्षेत्रमा वर्षा भएको थियो । गत आइतबार देखि २४ घण्टाको अवधीमा भैरहवा क्षेत्रमा ४७ मिलिलिटर वर्षा भएको थियो ।













प्रतिक्रिया