सप्तरी, ७ साउन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमा नवनिर्मित कार्यालय भवन तथा उक्त कार्यालय मातहत ईलाका प्रहरी कार्यालय कल्याणपुरको नवनिर्मित कार्यालय भवन एवं ब्यारेक भवनको शुक्रबार आयोजित छुट्टाछुट्टै समारोहबीच विधिवत उदघाटन गर्नुभयो ।
कुल १९ कोठाको साढे २ तले जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित भवन नेपाल प्रहरीको नियमित बजेटबाट करीव १ करोड २२ लाख ३२ हजार ५ सय ३ रुपयाँको लागतमा तथा साढे २ तले ईलाका प्रहरी कार्यालय कल्याणपुरको नवनिर्मित कार्यालय तथा ब्यारेक भवन नेपाल सरकार शान्ति तथा पुर्ननिर्माण मन्त्रालय, शान्ति कोषको आर्थिक सहयोगमा करीव १ करोड ४५ लाख ३९ हजार २ सय ८० रुपयाँको लागतमा निर्माण कार्य सम्पन्न गरिएको हो ।
भवन उदघाटन समारोहमा प्रहरी महानिरीक्षक अर्यालले नयाँ कार्यालय भवन निर्माण र प्राप्तीसँगै प्रहरीका काम कारबाही पनि नयाँ बिचार र कार्यशैलीबाट सम्पन्न हुनुपर्ने उल्लेख गर्नुभयो ।
प्रहरीको व्यवहार र सेवा जति सुन्दर भयो त्यत्ति नै समाजको सहयोग पाउन सकिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले भन्नुभयो, भवन मात्र सुन्दर भएर हुँदैन प्रहरीको आचरण र व्यवहार पनि सुन्दर हुनुपर्छ । नागरिकप्रतिको सेवाभाव अझै बढाउन निर्देशन दिँदै प्रहरी महानिरीक्षक अर्यालले प्रहरीले आफ्नो व्यवहार र आचरण राम्रो बनाएको समाजले अनुभूति गर्न सकेमात्र समाजबाट आवश्यक सहयोग पाउन सकिने तथा अपराध न्यूनिकरण, समाजमा शान्ति अमनचयन कायम गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

साथै उक्त कार्यक्रममा पूर्व क्षेत्रीय प्रहरी अस्पताल संचालनको लागि सप्तरी नकटिरायपुर–८ स्थित ठाकोदेबी जोगेन्द्र भगत ट्रष्टको तर्फबाट २ बिघा, ५ कट्ठा, साढे ८ धुर जग्गा र उक्त जग्गामा निर्माणाधीन ४ तल्ले पक्की घर उक्त ट्रष्टका अध्यक्ष जोगेन्द्र भगतले प्रहरी महानिरीक्षक अर्याललाई हस्तान्तरण गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक अर्यालले जग्गादाता जोगेन्द्र भगत र उनकी श्रीमती ठाकोदेवी भगतलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा धन्यबाद ज्ञापन गर्नेक्रममा पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले नेपाल प्रहरीले हालै ल्याएको प्रहरी मेरो साथी अभियानलाई सार्थक बनाउँदै अगाडि बढ्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।













प्रतिक्रिया