काठमाडौं, ४ साउन । १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएर ठक्कर खाएका नेपाली कांग्रेसका नेताहरु गगन थापा र अर्जुननरसिंह केसीलाई अर्काे झट्का लागेको छ ।
नाताले ज्वाई–ससुरा पर्ने थापा र केसीले उठाएको माग पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेपछि झट्का लागेको हो ।
थापा र केसीले डा गोविन्द केसीले उठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउनुपर्ने माग राखेका थिए । तर, केन्द्रीय बैठकले लोकमानलाई महाअभियोग लगाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने निर्णय गरेको हो ।
बैठकले डा गोविन्द केसीका अन्य मागमा भने समर्थन जनाउँदै पूरा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
मुख्य सचिव केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी केही दिनदेखि विभिन्न माग राखी आमरण अनसनमा बस्नु भएकोप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । मागहरुको प्रकृति राजनीतिक र चिकित्सा शिक्षा सम्बन्धी रहेको देखिन्छ । राजनीतिक मागहरु (लोकमानलाई महाअभियोग लगाउनुपर्ने) प्रति हाम्रो सहमति रहेको छैन् । चिकित्सा शिक्षा लगायत गैर राजनीतिक मागहरु सम्बन्धमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले विगतमा गरेका प्रतिवद्धता अनुरुप समाधान गरी अविलम्व अनसन अन्त्य गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’
केन्द्रीय बैठकमा सभापति देउवाको चेतावनी
बैठकमा युवा नेता गगन थापाले डा. केसीको माग पुरा गराउन पार्टीले उचित कदम चाल्नुपर्ने माग गरेका थिए । अर्जुनरसिंह केसीले पनि डा. केसीको माग सम्बोधन गर्न छिट्टै पहल गर्नुपर्ने भन्दै डा. केसीले लोकमानलाई महाअभियोग लगाउनुपर्ने मागबारेमा संसदीय उपसमिति बनाउनुपर्ने धारणा राखेका थिए ।
त्यसपछि बोलेका पूर्वमन्त्री मिनेन्द्र रिजालले डा. केसीले उठाएको अन्य माग पूरा गर्न कांग्रेसले दबाब दिने तर लोकमानलाई संसदले महाअभियोग लगाउनुपर्ने भनी माग राखेको बिषयमा भने कांग्रेसले बोल्न नहुंने धारणा राख्दै भने– ‘भोलि कसैले राजा ल्याउनुपर्छ भनेर माग राख्दै अनशन बस्यो भने हामी के गर्ने ?’
अन्तिममा बोलेका सभापति शेर बहादुर देउवाले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोगको माग गर्नेलाई पार्टीले उचाल्न नहुने भन्दै नेताहरुलाई यसबारेमा जथाभावी नबोल्न चेतावनी दिएका थिए । ‘काँग्रेस विधि र प्रक्रियाभन्दा बाहिर जान मिल्दैन, साथीहरुले पनि त्यही अनुसार आफ्ना भनाईहरु राख्नुपर्यो, जथाभावी नबोल्नुस् ?’
यसअघि सोमबार साँझ बीबीसी नेपालीसँग कुरा गर्दै देउवा निकट केन्द्रीय सदस्य बालकृष्ण खाँडले गगन थापाले लोकमानलाई महाअभियोग लाउनुपर्छ भन्दैमा केही नहुने भन्दै उनले राखेको माग पार्टी हुननसक्ने बताएका थिए ।













प्रतिक्रिया