विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा शंकास्पद बिल बिजकसहित जिन्क ऐस लोड गरिएको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर मोरङको टोलीले विशेष सूचनाका आधारमा उर्लाबारीस्थित चिनियाँ कम्पनीबाट १३ हजार ९० केजी जिन्क ऐस लोड गरी सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १३४८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकको चेकजाँच गर्दा बिलमा उल्लेख भएको सामानको मूल्य र वास्तविक मूल्यांकनबीच १४ लाख रुपैयाँ फरक देखिएको गण हेडक्वार्टरले जनाएको छ ।
ट्रकमा ढुवानीकर्ता र क्रेताको विवरण पनि बिलअनुसार फरक–फरक देखिएको सशस्त्र प्रहरीले उल्लेख गरेको छ ।
राजस्व छली भएको हुनसक्ने आशंकामा ट्रकलाई जिन्क ऐससहित नम्बर ३ गण मोरङमा ल्याई राखिएको छ ।
आवश्यक अनुसन्धान तथा अन्य कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय दमकमा पत्राचार गरिएको गण हेडक्वार्टरले जनाएको छ ।












प्रतिक्रिया