– विमल योगी
काठमाडौं, ४ साउन । वर्तमान सरकारविरुद्धको अविस्वासको प्रस्ताव पारित गर्नेसहित दुई निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसदमा प्रस्तुत गरिएको अविस्वासको प्रस्ताव पारित गर्ने र नयाँ सरकार बनाउन माओवादीसँग मिलेर पहल गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिनुभयो ।
बैठकले पार्टीभित्र कुनै दोधार नरहेको स्पष्ट पार्दै सरकार बनाउन कुनै संवैधानिक अवरोध नभएको निष्कर्ष पनि निकालेको छ ।
यसैगरी बैठकले भातृ संगठनहरुको महाधिवेशन तोकिएकै समयमा गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णय देहाय बमोजिम छः
१. नेपाली कांग्रेस र ने.क.पा. (माओवादी केन्द्र) बीच २०७३ आषाढ २८ गते भएको सहमतिहरुलाई २०७३ आषाढ २९ गतेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । व्यवस्थापिका–संसदमा प्रधानमन्त्री के.पी. शर्मा ओली उपर नेपाली कांग्रेस, ने.क.पा. (माओवादी केन्द्र), आन्दोलनकारी मधेश केन्द्रीत दलहरु समेत १३ वटा दलहरुबाट अविश्वासको प्रस्ताव दर्ता भई २०७३ श्रावण ६ गतेका लागि छलफलको दिन तोकि सकिएको छ । तसर्थ, यस सन्दर्भमा प्रधानमन्त्री के.पी. शर्मा ओली उपरको अविश्वासको प्रस्ताव पारित गराउने र नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्ने लगायतका प्रकृयाहरुमा नेपाली कांग्रेस एकतावद्ध भई सकृय समर्थन गर्ने निर्णय गर्दछ । साथै, उक्त प्रस्तावहरुलाई अत्यधिक मतले पारित गर्न व्यवस्थापिका–संसदमा रहेका सबै राजनीतिक दलहरुलाई हार्दिक आह्वान गर्दछ ।
२. व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव पारित भए पश्चात नयाँ प्रधानमन्त्रीको निर्वाचन नेपालको संविधानको धारा २९८ र व्यवस्थापिका–संसद नियमावली २०७३ को नियम ४९ बमोजिम सम्पन्न गर्ने विषयमा यो बैठक एकमत रहेको छ । अविश्वासको प्रस्ताव पारित भए पश्चात मुलुकलाई अन्यौलमा नराखी तत्काल नयाँ प्रधानमन्त्रीको निर्वाचन र मन्त्रिपरिषद्को गठन गर्ने कार्यमा सहयोग गर्न सम्बन्धित सबैलाई यो बैठक हार्दिक अपिल गर्दछ ।
३. सत्ता साझेदार दल ने.क.पा. (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिई सकेको र व्यवस्थापिका–संसदमा प्रधानमन्त्री के.पी. शर्मा ओली उपर १३ दलहरुको तर्फबाट अविश्वासको प्रस्ताव दर्ता भई सकेको अवस्थामा वर्तमान सरकारले बहुमत गुमाई सकेको प्रष्ट छ । अब अर्को नयाँ प्रधानमन्त्री निर्वाचित हुने बेलासम्मको लागि मात्र कायम रहेको यो सरकारले थरिथरिका निर्णय, नियुक्ति र बर्खास्तगी गर्न थालेको विषयप्रति केन्द्रीय कार्यसमितिको यो बैठक गम्भीर असहमति व्यक्त गर्दछ । यस्ता निर्णय, नियुक्ति र बर्खास्तगीहरु तत्काल बन्द गर्न पुनः ध्यानाकर्षण गराउँदछ ।
४. शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द के.सी. केही दिन देखि विभिन्न माग राखी आमरण अनसनमा बस्नु भएको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । मागहरुको प्रकृति राजनीतिक र चिकित्सा शिक्षा सम्बन्धी रहेको देखिन्छ । राजनीतिक मागहरु प्रति हाम्रो सहमति रहेको छैन । चिकित्सा शिक्षा लगायत गैर राजनीतिक मागहरु सम्बन्धमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले विगतमा गरेका प्रतिवद्धता अनुरुप समाधान गरी अविलम्व अनसन अन्त्य गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
५. केही दिनदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागहरुमा गएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको छ । कतिपय स्थानहरुमा यातयात अवरुद्ध भएका छन् । बाढी पहिरोका कारण सयौँ व्यक्तिहरु घरवारविहिन भई विस्थापित समेत हुन वाध्य भएका छन् । यस्तो कठिन अवस्थामा बाढी पहिरो पीडित परिवारहरुलाई तत्काल उद्धार, राहत र सहयोग उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै निकायलाई यो बैठक आग्रह गर्दछ ।
६. टर्कीमा हालै भएको सैनिक कू को प्रयासको यो बैठक गम्भीर भत्र्सना गर्दछ । सैनिक कू को प्रयासलाई टर्कीका जनताले असफल बनाई लोकतान्त्रिक पद्धतिको निरन्तरता कायम गरेकोमा यो बैठक हार्दिक प्रशंशा गर्दछ । साथै, सैनिक कू विफल पार्ने क्रममा सहादत प्राप्त गरेकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।













प्रतिक्रिया