काठमाडौं, ३ साउन । राप्रपाका केन्द्रीय सदस्य बसन्तमान सिंह अधिकारीले अध्यक्ष र पार्टीको विषयमा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै आपत्ति प्रकट गर्नुभएको छ ।
केन्द्रीय सदस्य अधिकारीले भन्नुभयो, ‘हाम्रो पार्टी अध्यक्ष पद कसलाई दिने भनेर कुनै निर्णय भएको छैन । चक्रीय प्रणालीमा जाने सहमति भएको छ । तर, लोकेन्द्रबहादुर चन्दज्यूको बाँकी अवधिपछि मात्रै दिने भनिएको हो । त्यो चार वर्षपछि पनि हुन सक्छ । जहिले पनि हुन सक्छ ।’ अहिले पार्टीको अध्यक्ष चन्द नै रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो अध्यक्ष चन्द कसरी काम चलाउ हुनुभयो ? समाचार जे मन लाग्यो त्यही लेख्ने ?’
निर्णयअनुसार साउन १२ गतेदेखि आफ्नो कार्यकाल सकिँदा पनि अध्यक्ष लोकेन्द्रबहादुर चन्दले पद हस्तान्तरण नगरेको सम्बन्धमा दैनिक नेपाल डट कमले सोमबार समाचार प्रकाशित गरेपछि अधिकारीले आपत्ति जनाउनुभएको हो । उहाँले अध्यक्ष पद हस्तान्तरण गर्ने कुनै सहमति नभएको दाबी गर्दै राप्रपाको अध्यक्ष लोकेन्द्रबहादुर चन्द रहको बताउनुभयो ।
पूर्व सहमतिअनुसार चन्दले साउन १२ गतेदेखि वरिष्ठ नेता पशुपति शम्शेर राणालाई अध्यक्ष पद हस्तान्तरण गर्नु पर्ने हो । तर गर्नुभएको छैन । यस विषयमा चन्द र राण समूहले अध्यक्ष पद हस्तान्तरको व्याख्या आफू अनुकुल गरेको आरोप छ । चन्द समूहको यो भनाइसँगै अब राप्रपाभित्रको बिबाद फेरि बढ्ने संकेत देखिएको छ ।
केन्द्रीय सदस्य अधिकारीले भन्नुभयो, ‘चार वर्षसम्म राप्रपाको महाधिवेशन नहोला ? के चक्रीय प्रणाली भनेर बसिरहने ? छ–छ महिना अध्यक्ष पद चलाउने भन्ने कुरा मलाई थाहा छैन । चन्दज्यूको बाँकी अवधि सक्किएपछि भनेको हो । त्यो समय चार वर्षपछि पनि सक्किन सक्छ ।’
दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने विषयमा पनि पार्टीभित्र कुनै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म सरकारका विषयमा के गर्ने भनेर कुनै निर्णय भएको छैन ।’












प्रतिक्रिया