काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको पुस्तक ‘बिलोङिङः अ जर्नी अफ लभ’ अहिले चर्चामा छ ।
हालै सार्वजनिक भएको यो पुस्तकका विभिन्न प्रसंगहरू भारतको सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिक वृत्तसम्म व्यापक रूपमा चर्चा भइरहेका छन् ।
रोचक कुरा त अब यो पुस्तकमा आधारित रहेर एक फिल्म नै बन्ने भएको छ ।
तेलंगाना प्रदेश कांग्रेस कमिटीका कार्यकारी अध्यक्ष जग्गा रेड्डीले बिहीबार सोनियाको पुस्तक ‘बिलोङिङः अ जर्नी अफ लभ’मा आधारित तेलुगु चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् । उनका अनुसार चलचित्रमा सोनियाको जीवन र राजनीतिक यात्रालाई प्रस्तुत गरिनेछ ।
कांग्रेस कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै रेड्डीले साङ्गा रेड्डी विधानसभा क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्ताहरू एकजुट भएर यो चलचित्र निर्माण गर्ने बताए ।
रेड्डीले भने, ‘पार्टीका नेता तथा कार्यकर्ताहरूले चुनावका बेला पैसा खर्च गर्छन् नि, होइन र ? उहाँहरूले यस परियोजनालाई पनि त्यही भावनाले हेर्नुपर्छ र योगदान दिन अघि आउनुपर्छ । आउनुहोस्, आवश्यक बजेट जुटाऔँ र चलचित्रका लागि एक योग्य निर्देशक खोजौँ । यो परियोजनालाई अघि बढाउन हामीले ५० सदस्यीय समिति गठन गर्नुपर्छ । तयारी पूरा भएपछि हामी मुख्यमन्त्री रेवन्थ रेड्डी र टीपीसीसी अध्यक्ष महेश कुमार गौडलाई आमन्त्रण गरेर छायांकनको सुरुवात गर्नेछौँ ।’
प्रस्तावित चलचित्रले सोनियाको जीवनका विभिन्न चरणहरूलाई चित्रण गर्नेछ । यसमा उनको परिवार, पूर्वप्रधानमन्त्री राजीव गान्धीसँगको विवाह, उनको राजनीतिक यात्रा र कांग्रेस पार्टीभित्रको उनको भूमिका समेटिनेछन् । साथै, चलचित्रमा इन्दिरा गान्धी र राजीव गान्धीको हत्यापछि परिवारले भोग्नुपरेका कठिनाइहरू देखाइनेछन् । चलचित्रमा राहुल गान्धी र प्रियंका गान्धीको हुर्काइका क्रममा आइपरेका चुनौतीहरू तथा सोनियाको सक्रिय राजनीतिमा प्रवेशको कथा पनि समेटिनेछ ।
यसैबीच, चलचित्र निर्माणका लागि संगारेड्डीका लागि कांग्रेस विधानसभा निर्वाचन क्षेत्र संयोजक जुलाकान्ति अन्जनेयुलुले चलचित्र निर्माणका लागि २ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
सोनियाको यो पुस्तक ५४४ पृष्ठको छ । यसमा सोनियाले आफ्नो जीवनका विभिन्न पक्षबारे चर्चा गरेकी छिन् । जसमा उनका व्यक्तिगत अनुभव र पारिवारिक जीवनदेखि लिएर राजीव गान्धीसँगको पहिलो भेट, उनीहरूको विवाह, र भारतीय राजनीतिमा उनको विदेशी मूललाई लिएर बारम्बार उठ्ने प्रश्नहरूसम्म समेटिएका छन् । साथै, सन् २००४ मा प्रधानमन्त्रीको पद अस्वीकार गर्ने सोनियाको निर्णय, क्यान्सरसँगको उनको संघर्ष, र राष्ट्रको इतिहासका केही अत्यन्त महत्त्वपूर्ण घटनाहरू (जस्तै सन् १९७५ को संकटकाल (इमर्जेन्सी), सन् १९८४ को अपरेसन ब्लु स्टार र सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको घटना)मा उनका विचारहरू पनि पुस्तकमा समेटिएका छन् ।












प्रतिक्रिया