काठमडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी ओलीलाई छाडेर माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनलाई सहयोग गर्ने संकेत गरेको छ ।
साउन ११ गते केन्द्रीय कार्यसमिति बोलाएको राप्रपाले अब सरकारमा बसिरहने वा बाहिर निस्कने भन्नेमा ठोस निर्णय गर्नेछ । केन्द्रीय कार्यसमितिको बैठक अघि नै सरकार छाडेर माओवादी–कांग्रेस गठबन्धनलाई सहयोग गर्न वरिष्ठ नेता पशुपति शम्शेर राणा, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, केन्द्रीय सदस्य सुनिलबहादुर थापासहितका नेताहरूले दबाब दिइरहेका छन् ।
तर, आफ्ना पुत्र जयन्त चन्द र दीपक बोहराका कराण राप्रपाका कामचलाउ अध्यक्ष लोकेन्द्रबहादुर चन्दले तत्काल सो विषयमा निर्णय गर्न खुट्टा कमाएको आरोप पार्टीभित्रै लाग्न थालेको छ ।
स्रोतका अनुसार राप्रपाले साउन छ गते संसदको बैठक बस्नुअघि नै सरकारबाट बाहिरिने निर्णय गर्नेछ । राप्रपाले आफ्ना दुई मन्त्रीलाई छिट्टै फिर्ता बोलाउने तयारी गरेको बुझिएको छ ।
राप्रपाका सहप्रवक्ता किरण गिरीले सरकारमा बसिरहने वा बाहिरिने के निणय हुँदैछ भनेर राखिएको जिज्ञासामा भने, ‘अहिले केही भन्ने अवस्था छैन । पार्टीको बैठकले निर्णय गर्छ । शीर्ष नेताहरू आन्तरिक छलफलमा हुनुहुन्छ ।’
उता, असार १२ गतेदेखि पूर्व सहमति र निर्णयअनुसार कामचलाउ अध्यक्ष भएका चन्दले पद छाड्न नमानेको रहस्य खुलेको छ ।
पूर्व सहमतिअनुसार चन्दले असार १२ गतेदेखि अध्यक्ष पद वरिष्ठ नेता राणालाई हस्तान्तरण गर्नु पर्ने हो । तर चन्दले अटेर गरेर पद हस्तान्तरण गर्न नमानेको स्रोतको भनाइ छ ।












प्रतिक्रिया