काठमाडौँ, ३१ असार । लामो विवादपछि नेपाल निजामती कर्मचारी सङ्गठनले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनमा पठाइने नामको टुङ्गो लगाएको छ ।
सङ्गठनको आज बसेको बैठकले ट्रेड युनियनको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित आठ सदस्यको नाम चयन गरेको सङ्गठनका सदस्य गगनबहादुर विकले जानकारी गराउनुभयो । उहाँका अनुसार बैठकले आधिकारिक ट्रेड युनियनका अध्यक्षमा पुण्यप्रसाद ढकाल, उपाध्यक्षमा भोलानाथ पोखरेल र कोषाध्यक्षमा सिन्धुकुमारी पाण्डेलाई पठाउने निर्णय गरेको छ । ढकाल सङ्गठनका वर्तमान अध्यक्ष र पोखरेल पूर्वाध्यक्ष हुनुहुन्छ ।
यसैगरी आठ सदस्यमा लेखनाथ कोइराला, जीवन काफ्ले, छत्रबहादुर शाह, कुमारप्रसाद तिमिल्सेना, खेमलाल अधिकारी, मेघदेव पन्त, गोविन्द अधिकारी र सुब्बालाल मण्डल चयन गरिएको विकले जानकारी गराउनुभयो । उहाँले आजै सङ्गठनले ट्रेड युनियनका लागि चयन गरेको नाम निर्वाचन समितिमा पठाइएको बताउनुभयो ।
गत जेठ १९ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन भएपछि अध्यक्षसहित पदाधिकारीमा को पठाउने भन्ने विषयमा विवाद भएपछि सङ्गठनले आफ्ना भागमा परेका पदाधिकारीसहित सदस्यको नाम चयन गर्न सकेको थिएन ।
त्यस्तै बैठकले वर्तमान अध्यक्ष ढकाललाई ट्रेड युनियनका अध्यक्षमा सिफारिस गरेपछि रिक्त अध्यक्षमा महासचिव मोहनकुमार घिमिरे र महासचिवमा उपाध्यक्ष रेवन्त गौतमलाई चयन गरेको विकले जानकारी गराउनुभयो ।
यसअघि ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)का तर्फबाट महासचिवमा सुबोधकुमार देवकोटालाई पठाइसकिएको छ । रासस












प्रतिक्रिया