काठमाडौं, २९ असार । माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा नदिएपछि कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
माओवादी केन्द्र र कांग्रेसले ओलीलाई तीन बजेभित्र पदबाट राजीनामा दिन आग्रह गरेका थिए । तर ओलीले संवैधानिक व्यवस्थाअनुसार अविश्वासको प्रस्ताव फेस गर्ने जनाएपछि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
पौने तीन बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महासचिव मनोहरप्रसाद भट्टराईको कार्यकक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं उपस्थित भई अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको हो । प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन छ ।
माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिन आफूहरूले गरेको आग्रह अस्वीकार गरेकाले प्रधानमन्त्रीबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरिएको जानकारी दिनुभयो ।
अविश्वासको प्रस्तावमा नेकपा संयुक्तले पनि समर्थन जनाएको छ । अविश्वासको प्रस्तावमा समर्थन जनाउने दलहरूको संख्या बढ्ने महासचिव महराले पत्रकारहरूलाई बताउनुभएको छ ।













प्रतिक्रिया