१९ कार्तिक २०८३, बिहिबार

प्रमुख निर्वाचन आयुक्त डा यादवद्वारा पदभार ग्रहण

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ayodi-parsad-yadav

काठमाडौँ, २७ असार । निर्वाचन आयोगले पहिलो पटक मधेसमूलका प्रमुख निर्वाचन आयुक्त पाएको छ ।

आयोगको १३औँ प्रमुख निर्वाचन आयुक्तका रुपमा आजदेखि पदभार सम्हाल्नुभएका डा अयोधीप्रसाद यादवले अर्थशास्त्रमा ‘विद्यावारिधि’ प्राप्त हुनुहुन्छ ।

विसं २००८ कात्तिक २६ गते २०१६ सम्म सुवर्णशम्शेर जवराले पहिलो निर्वाचन कमिसनरका रुपमा आयोगलाई नेतृत्व प्रदान गर्नुभएको थियो । यसपछि क्रमशः सुरेन्द्रबहादुर बस्नेत, पूर्णप्रसाद ब्राह्मण, विष्णुमणि आचार्य, सुन्दरप्रसाद शाह, शेरबहादुर शाही, सूर्यप्रसाद श्रेष्ठ, विष्णुप्रताप शाह, अच्यूतरमण राजभण्डारी, केशवराज राजभण्डारी, भोजराज पोखरेल र नीलकण्ठ उप्रेतीले प्रमुख निर्वाचन आयुक्त हुनुभएको थियो ।

उसो त प्रमुख निर्वाचन आयुक्त डा यादवले २०७२ साल भदौ ११ गतेदेखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तका रुपमा कार्यभार सम्हाल्दै आउनुभएको थियो । संसदीय विशेष समितिले यही असार २४ गते प्रमुख निर्वाचन आयुक्तका रुपमा डा यादवको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीसँग आज पद तथा गोपनीयताको शपथ लिएर सिधै कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यलयमा पुगी पदभार सम्हाल्नुभय । विसं २०६३ साल पुस २७ गते निर्वाचन आयुक्त पदबाट आयोगमा प्रवेश गर्नुभएका प्रमुख निर्वाचन आयुक्त डा यादवसँग २०६४ र २०७० सालमा दुईपटक संविधानसभा निर्वाचन सम्पन्न गरेका गहकिलो अनुभव छ । स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गर्नका लागि गर्नुपर्ने कामका बारेमा डा यादवले आयोगमा रही नौ वर्षभन्दा बढी काम गरिसक्नुभएको छ ।

सरल जीवन उच्च विचारका धनी डा यादवले यस बीचमा निर्वाचन प्रणालीको सङ्क्षिप्त रुपरेखा, नेपालमा निर्वाचन, संविधान सभा निर्वाचन २०६४, नेपालमा मतदाता दर्ता प्रणालीजस्ता निर्वाचनसँग सम्बन्धित पुस्तक लेखनसमेत गर्नुभएको छ । यसका अलावा पेसाले अनुसन्धान र शिक्षक डा यादवले सामाजिक–आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा एक दर्जनभन्दा बढी अनुसन्धानमूलक कार्यपत्र र सोही सङ्ख्यामा पुस्तक समेत सम्पादन गर्नुभएको छ ।

स्नातकोत्तर तहको अर्थशास्त्र विषयमा महेन्द्र मोरङ क्याम्पसबाट स्वर्णपदक विजेतासमेत डा यादवले सोही विषयमा २४ वर्ष अध्यापनमा व्यतित गर्नुभएको छ । उहाँले केही समय तत्कालीन जुट विकास तथा व्यापार सस्थानको महाप्रबन्धकको जिम्मेवारीसमेत वहन गर्नुभएको थियो ।

विस २०११ मा सप्तरी जिल्लाको प्रशवनी गाविस बनौलीमा उहाँको जन्म भएको थियो । उहाँ नेपाल रेडक्रस सोसाइटी सप्तरी जिल्ला शाखा, सप्तरी मानवअधिकार फोरम र नेपाल बार एसोसिएसनजस्ता संस्थामा पनि आबद्ध हुनुहुन्छ ।

संविधान कार्यान्वयनमा लाग्छु : डा यादव

पदभार सम्हाल्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “मेरो पहिलो काम संविधान कार्यान्वयनमा सहयोग पु¥याउनु हुनेछ ।”

संविधानको प्रावधानअनुसार स्थानीय, सङ्घ÷प्रदेश र संसद्को निर्वाचन गराउन आयोगले कार्ययोजना तयार गरी अगाडि बढिसकेको जानकारी उहाँले दिनुभयो । “नेपाली जनताले जुनसुकै निर्वाचन सम्पन्न गराउन आयोगप्रति जुन अगाध विश्वास राखेका छन्, त्यो छविलाई म गिर्न दिन्न, झन् उँचो बनाउनेछु–” प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्दा कस्तो अनुभव गर्दै हुनुहुन्छ ? भन्ने राससको जिज्ञासामा डा यादवले “आयोग र यहाँ कार्यरत कर्मचारीसँग जुनसुकै निर्वाचन गराउन सक्ने गहिरो अनुभव छ, म यो अनुभवलाई लिँदै आयोगको साख बढाउन लाग्नेछु” भन्नुभयो ।

निर्वाचन आयुक्त इला शर्मा र सचिव शारदाप्रसाद त्रितालले उहाँलाई आयोगमा स्वागत गर्नुभएको थियो । हाल आयोगमा तीन निर्वाचन आयुक्त पद खाली छन् । रासस