२९ आश्विन २०८३, बिहिबार

माओवादीबाट आन्दोलनको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-baidhya

काठमाडौ । नेकपा–माओवादीले आगामी असार १० देखि १५ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने भएको छ ।

माओवादीको वैशाख २१ र २२ गतेसम्म बसेको पोलिटब्युरोको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष मोहन वैद्यले राष्ट्रिय सम्मेलनको तयारीमा पार्टी लागेको जानकारी दिनुभयो ।

बैठकले आगामी असार ८ गते हुन लागेको उपनिर्वाचनसमेत बहिस्कार गर्ने निर्णय गरेको छ ।

अध्यक्ष वैद्यले सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक आधारमा एमाओवादीलगायतका दलहरूसँग एकताका लागि पहल गर्न पार्टी पदाधिकारीलाई जिम्मा दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “माक्र्सवाद, लेनिनवाद र माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई स्वीकार गर्ने, सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने, पार्टी इतिहासको समीक्षा गर्दै गल्ती, कमजोरीलाई सच्याउन तयार रहनेलगायत छबुँदालाई हामीले एकताको आधार बनाउने निर्णय गरेका छौं ।”

गत मंसिर ४ गतेको निर्वाचन बहिष्कारका दौरान ताप्लेजुङलगायत विभिन्न जिल्लामा आफ्ना नेता र कार्यकर्तामाथि लगाइएका मुद्दालाई खारेज गर्न पनि अध्यक्ष वैद्यले माग गर्नुभयो ।

आन्दोलनका कार्यक्रम घोषणा

माओवादी पोलिटब्युरो बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयलाई उठाउँदै आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ ।

आन्दोलनका कार्यक्रमअनुसार जेठ ५ गते सर्वपक्षीय राजनीतिक सभाको मागमा सहमत हुने राजनीतिक दलसहित सरकारलाई ज्ञापनपत्र बुझाउने, जेठ ७ गते शान्तिवाटिकामा उपत्यकास्तरीय बेपत्ता योद्धा स्मरण दिवस मनाउने र जेठ १४ गते संविधानसभा विघटन गरिएको दिनको विरोधमा राजधानीमा बृहत् जनप्रदर्शन गर्ने रहेको छ ।

त्यसैगरी, जेठ २५ गते माथिल्लो कर्णाली, अरुण तेस्रो, कोसी उच्च बाँध तथा माथिल्लो मस्र्याङ्दी आयोजनासँग सम्बन्धित जिल्लाहरूमा विरोधका कार्यक्रम गर्ने, जेठ ३० गते मल, बीउ, कृषि औजारलगायत विषयलाई लिएर किसान सङ्घको तर्फबाट सबै जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने कार्यक्रम छ ।