१९ कार्तिक २०८३, बिहिबार

सेनालाई लोमान्थाङवासीबाट निःशुल्क जग्गा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

मुस्ताङ, २३ असार । चीनसँग सीमा जोडिएको कोरला नाकाको अवलोकन र वस्तुस्थिति अध्ययन गर्न आज अपराह्न त्यहाँ पुगेको उपप्रधानमन्त्री सम्मिलित सरकारी टोली राजधानी फर्किएको छ ।

उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, भीमबहादुर रावल र टोपबहादुर रायमाझीसँगै पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, अर्थराज्यमन्त्री दामोदर भण्डारी, सडक विभागका महानिर्देशक माधव कार्की, रक्षा सचिव महेश दाहाल, सांसद रोमी गौचन, श्रीमाया थकाली र महेन्द्र शेरचनसहितको टोली सीमा क्षेत्र पुगेको थियो । टोलीले सीमा क्षेत्रमा करिब आधा घन्टा बिताएको थियो ।

सरकारले उच्च प्राथामिकता राखेको कोरला नाका पुग्ने सडकमार्ग, सुरक्षा र भन्सार कार्यालय व्यवस्थापन लगायत विषयमा स्थलगत अनुगमन गर्न टोली सीमा क्षेत्र पुगेको प्रजिअ गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । टोलीले स्थानीयवासीको लामो समयको मागपछि लोमान्थाङमा स्थापना गर्न लागिएको नेपाली सेनाको गुल्मका लागि आवश्यक जग्गाको अवलोकन पनि गरेको लोमान्थाङका गाउँ मुखिया झाङवा विष्टले बताउनुभयो ।

लोमान्थाङवासीले सेनाका लागि लोमान्थाङको दक्षिणी क्षेत्रमा पर्ने बजार नजिकै छोलुङमा करिब ५० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । “केही समयदेखि यहाँ सेनाले भौतिक पूर्वाधार निर्माण गरिरहेको छ, यसको पनि उच्चस्तरीय टोलीले अनुगमन गरेको छ”– उहाँले भन्नुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री गच्छदारले जोमसोम–कोरला सडकखण्डको अनुगमन गर्नुभएको थियो । त्रियानब्बे किमी लामो उक्त सडकको स्तरोन्नतिका लागि सरकारले रु दुई अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । रासस