काठमाडौं, २२ असार । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का पोलिट ब्यूरो सदस्यहरूले आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने धारणा राखेका छन् ।
कोटेश्वरस्थित पार्टी मुख्यालयमा बुधबार बसेको पोलिट ब्यूरो बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।
बैठकमा एमालेसँग भएको नौँ बुँदे सहमति कार्यान्वयन गराउन दबाब दिनुपर्नेमा पनि सदस्यहरूले धारणा राखेका थिए ।
सदस्यहरूले एमालेले सत्ता गठबन्धनले जस्तो व्यवहार नदेखाएको भन्दै नौँ बुँदे सहमति कार्यान्वयनमा धोका दिएको आरोप लगाएका छन् ।
मानव तस्करीको अभियोग लागेका आफ्ना आठ सांसदका बारेमा छानविन गर्न माओवादी केन्द्रले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
माओवादीका आठ जना सांसदहरू मानव तस्करीमा सक्रिय भएको समाचार भएलगत्तै छानविन समिति गठन भएको हो । समितिले सात दिनभित्र आफ्नो सुझाव प्रतिवेदन बुझाउनु पर्नेछ ।
समितिको संयोजकमा अमिक शेरचन रहनु भएको छ । सदस्यहरूमा कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भूसाल हुनुहुन्छ ।
मानव तस्करीमा सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरी अनुसन्धानभित्र परेका छन् ।
बैठकमा संगठनात्मक र निर्वाचन विधिबारे कार्यदलको प्रस्तुत रिपोर्ट माथि २२ जना सदस्यहरूले धारणा राखेको जारी विज्ञप्तिमा उल्लेख छ । पोलिट ब्यूरो बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।













प्रतिक्रिया