काठमाडौं, २२ असार । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार बनाउने विषय आफूहरूकै रहेको बताउनुभएको छ ।
त्रिभुवन बिमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै नेता नेपालले भन्नुभयो, ‘राष्ट्रिय सहमतिको सरकार बनाउन माओवादीले पहल गरेको हो भने एमालेको पनि त्यही धारणा हो ।’ उहाँले एमालेले राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने एजेण्डा पहिल्यैदेखि खुला गरेको दाबी गर्नुभयो ।
‘राष्ट्रिय सहमतिको सरकारमा सबैलाई ल्याउनका लागि फकाउनु पर्दैन’, उहाँले भन्नुभयो, ‘त्यसका लागि एमालेले पनि प्रयास गर्ने, माओवादीले पनि प्रयास गर्ने, सबैले प्रयास गर्ने हो ।’
राष्ट्रिय सहमतिको सरकार गठन गर्ने एमालेको नीति नै भएको उहाँको भनाइ थियो । ‘राष्ट्रिय सहमतिको नीतिबाट एमाले दायाँ–बाँया हुँदैन’, उहाँले भन्नुभयो, ‘म केही दिन विदेश भ्रमणमा रहेँ । त्यसलाई सार्थक रुप दिन यहाँ प्रयास भैरहेको होला । म पनि छलफल गर्छु । अब कांग्रेस, एमाले, एमाओवादी सबै एउटै सरकारमा बस्नुपर्छ ।’
अहिलेको आफ्नै पार्टी नेतृत्वको सरकार गिराउन आफूले कुनै पनि भूमिका नखेलेको नेता नेपालले बताउनुभयो । ‘मैले त्यो कतै पनि भनेको छैन । अब भन्दै नभनेका कुरालाई कपोलकल्पित गरेर कसैले बाहिर ल्याउँछ भने त्यसबारे मेरो भन्नु केही छैन’, उहाँले भन्नुभयो, ‘आफ्नो पार्टीको भविष्यका बारेमा सोँच्ने व्यक्तिले आफ्नै पार्टीका बारेमा यसो भनेको भन्ने कुरा सही होइन ।’












प्रतिक्रिया