
काठमाडौ, २० असार । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन, ‘तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्नुहुँदैन । त्यो आफ्नै लागि घातक हुन्छ ।’
अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस कांग्रेसमाथि आउन सक्ने भन्दै उनले अहिले सरकार ढाल्ने काममा लागे संविधान कार्यान्वयन नहुने तर्फ सचेत गराईन ।
उनले सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फेरि फस्ने उल्लेख गर्दै अहिले अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने चेतावनी दिईन ।
कोइरालाले भनिन, ‘मुलुकमा प्रचण्ड मात्रै एक्लो नेता हुन र उनको लागि सरकार ढाल्नु पर्ने ? उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैन र सफल पनि हुँदैनन ।’
कुनै पनि सरकारलाई एउटा अवधीसम्म चल्न दिएर मुलुकमा स्थिरता कायम गरेर संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्ने धारणा राख्दै प्रधानमन्त्री ओलीको योजनाले जनतामा उत्साह ल्याएकोले कांग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने विश्वास उनले ब्यक्त गरिन ।
कोइरालाले पार्टीभित्र अहिलेसम्म सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको अवस्थामा यस्तो कुरा कसरी बाहिर आयो भनि आश्चर्य ब्यक्त गर्दै राजनीतिक दलका नेताहरुले सम्मान पाउने हो भने केवल प्रधानमन्त्री मात्रै बन्ने खेल खेल्न छाड्नु पर्ने सुझाव दिईन ।
उनले भनिन, ‘अहिले संविधान कार्यान्वयनको लागि निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्छ । सरकार परिवर्तनको खेलमा लाग्नु हुँदैन । एक त यो सरकार ढल्दै ढल्दैन, ढले पनि उनीहरु आफै सकिन्छन ।’












प्रतिक्रिया