२ कार्तिक २०८३, सोमबार

उपत्यकामा ५३ किमी सडक विस्तार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak-bistar

काठमाडौँ, १६ असार । उपत्यकामा ५३ किमी सडक विस्तारका लागि बोलपत्र आह्वान गरी काम सुरु गरिएको छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उपत्यकामा ३६ किमी सडक विस्तार सम्पन्न भइसकेको जनाएको छ । उपत्यकाका व्यस्त सडकमध्ये ८९ किमी सडक विस्तार गर्ने कार्यक्रम रहेकामा ३६ किमी सम्पन्न गरी ५३ किमी सडक विस्तारको काम अघि बढाइएको आयोजना प्रमुख मनोज श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

“त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२.४८ किमी, चाबहिल–जोरपाटी–साँखु १२ किमी, जोरपाटी–सुन्दरीजल सात किमी, लगनखेल–सातदोबाटो ८०० मिटर, इमाडोल–सिद्धिपुर–गोदावरी तीन किमी, कर्मनासा–हरिसिद्धि चार किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ सात किमी, नख्खु–भैँसेपाटी–बुङ्मती साढे तीन किमी सडक विस्तारको प्रक्रिया सुरु भएको छ”– उहाँले भन्नुभयो ।

विगत वर्षबाटै काम सुरु भएको त्रिभुवन विश्वविद्यालय मूलद्वार–नयाँबाटो कीर्तिपुर ५०० मिटर र बूढानीलकण्ठ–विष्णुमतीपुल ८०० मिटर सडकको काम केही बाँकी रहेको आयोजनाले जनाएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले विभिन्न समयमा सरकारले तोकेको मापदण्डका आधारमा सडक सीमाको चिह्न लगाएपछि त्यस क्षेत्रको महानगरपालिका वा नगरपालिकाले मापदण्ड विपरीत बनेको संरचना भत्काउँछ । सरकारले तोकेको मापदण्डको जग्गा खाली भएपछि आयोजनाले सडक विस्तार गर्छ ।

विसं २०३३ मै तोकेको मापदण्डको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको खम्बा गाड्ने र सडक विस्तारका बेला निकाल्न आयोजनाले नै पैसा तिर्नुपर्दा ढिला हुने समस्या रहेको आयोजना प्रमुख श्रेष्ठको गुनासो छ । रासस