मस्को, १६ असार । रसियाले टर्कीलाई सघाउने बाचा दिएको छ । केही समय अघिदेखि सिरियाका कारण यी दुई देशको सम्बन्ध चिस्सिएको थियो । त्यस सम्बन्धमा पुनरावलोकन हुने सम्भावना बढेको बताइएको छ ।
टर्कीको स्तानबुलमा बुधबार भएको आतङ्ककारी हमलापछि टर्कीका राष्ट्रपतिले विश्वका सबैदेशसँग आतङ्कवादका विरुद्धमा लड्न सहयोगको अपेक्षा गर्नुभएको थियो ।
सो अपेक्षाअनुसार राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीसँगको व्यापारिक सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
टर्कीले रसियाली युद्धक विमानलाई आफ्नो आकाशमा अतिक्रमण गरेको र बारम्बार सचेत गराउँदासमेत नहटेको भन्दै आक्रमण गरी टर्कीले रसियाली युद्धक विमान नै खसालेको थियो ।
त्यसयता टर्की र रसियाबीच सम्बन्ध चिसिएको थियो । कैयौं उत्पादनहरुमा रसियाले टर्कीमाथि नाकाबन्दी पनि लगाउँदै आएको छ ।
सन् २०१५ को नोभेम्बरदेखि चिस्सिएको सो सम्बन्धमा बुधबार नयाँ आयाम थपिएको महसुश गरिएको छ । उक्त आतङ्ककारी हमलापछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सबै छिमेकीसँग सहयोगको अपिल गर्नुभएको थियो ।
यसका लागि टर्कीका राष्ट्रपतिले रसियासँग माफ माग्नुभएको थियो । रसियाली युद्धक विमान खसालेको घटना दुःखद भएको भनी उक्त घटनामा मृत्यु भएका विमान चालकका परिवारसँग पनि उहाँले माफी माग्नुभएको हो ।
उहाँले बुधबार नै रसियालाई पत्राचार गरेपछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो तर्फबाट टर्कीका लागि सहयोग गर्ने बताउनुभएको हो । उहाँले टर्कीका समकक्षी एर्डोगानसँग बुधबार फोनवार्ता पनि गर्नुभएको छ ।
बुधबार टर्कीका समकक्षी एर्डाेगानसँगकोे कुराकानीपछि रसियाली राष्ट्रपति पुटिनले टर्कीबाट ल्याउने खाद्यान्न सामग्री, उडान र प्याकेज टुरमा यसअघि लगाएको प्रतिबन्ध सामान्यीकरण गर्दै लैजान आदेश दिनुभएको छ ।
यस वार्तापछि टर्कीमाथी प्रतिबन्ध लगाइएको नाकाबन्दी आवश्यक प्रक्रिया पूरा गरी छिट्टै खुल्ने सम्भावना बढेको पनि समाचारमा जनाइएको छ । रासस/एएफपी
















प्रतिक्रिया