– हेमन्त पौडेल
धनगढी, १४ असार । नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले धनगढी उपमाहानगरपालिका १ मा रहेको उहाँको घर अगाडीको नाला थुनेको भन्दै स्थानीय बासिन्दाहरु आक्रोशित भएका छन् ।
उहाँले बनाउन लागेको नयाँ घरको सामग्री नाला थुनिने गरेर राखेपछि वर्षातको पानीको निकास नभएपछि गाउँ डुबानमा परेकाले स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।
नाली बन्द हुने गरेर राखिएका निर्माण सामग्री हटाउन स्थानीयहरुले बारम्बार आग्रह गर्दा पनि आज हटाउँछु भोली हटाउँछु भन्दै टार्दै गएपछि स्थानीय विरोधमा उत्रिएका हुन । केही दिन अघि परेको पानीको निकास नभएपछि शिवनगरका करिब १५ घर डुबानमा परेको स्थानीय बासिन्दा मनोज महतराले बताउनुभयो । एमाले जस्तो जिम्मेवार पार्टीका जिम्मेवार अध्यक्ष जस्तो ब्यक्तिले जनताले भोगेको समस्याप्रति आफै गम्भीर बन्नुपर्नेमा स्थानीयको आग्रहलाई समेत वेवास्था गरेकोमा आफूहरु दुःखी भएको उहाँको गुनासो छ । वर्षातको पानीको निकास नभएकाले अहिले पनि नालामा पानी भरिएको छ । नालाको पानी आगनमा आएर आफूहरुलाई समस्या भएको अर्का स्थानीय बासिन्दा दुर्गा बोगटीले बताउनुभयो । सो क्षेत्रका नल्कामा राखेका मोटरमा पानी पसेकाले विग्रिएको बोगटीको भनाई छ ।
नाला थुनिएकाले भएको समस्याका बारेमा शिवनगर चौकमा बसेर छलफल गरिरहेको अवस्थामा एमाले अध्यक्ष सोडारीले मेरा विरुद्ध कुरागर्ने अधिकार कस्ले दियो भन्दै स्थानीय बासिन्दाहरुलाई धम्की दिएको स्थानीय हिक्मत मगरले बताउनुभयो । एमालेको प्रवासी संघमा भारतमा बसेर काम गर्दै आउनुभएको लक्ष्मण बोगटीले एमालेको अध्यक्ष जस्तो ब्यत्तिले जनताको हितभन्दा बाहिर काम गर्नु गलत भएको बताउँदै गर्दा अध्यक्ष सोडारी बजारबाट घरतर्फ जाँदै गर्दा सुनेपछि ४७०० सदस्यले चुनेको अध्यक्ष हुँ मेरो विरोध गर्ने तँ को होस भन्दै गालीग्लोज गर्दै बोगटीमाथि हातपात भएको वोगटीका छोरा बिक्रम बोगटीले बताउनुभयो । उहाँसंगै अध्यक्ष सोडारीकी श्रीमति गीता सोडारीले समेत अभद्र ब्यावहार देखाएको पारिपारिक स्रोतले जनाएको छ । आफ्ना विरुद्धमा बोलेमा कसैलाई पनि नछोडिने भन्दै गीताले धम्की दिएको स्थानीयको भनाई छ ।
एमालेका नेता तथा स्थानीय अगुवा चक्र बोगटी गाउँघरमा स्थानीयहरुबीच भनाभन भएपनि गाउँको कुरा गाउँमा मिलाउनुपर्ने भन्दै आफूले पहल गरेको तर अध्यक्ष सोडारीले प्रहरी बोलाई लक्ष्मण बोगटीलाई पक्राउ गर्न गर्न लगाएपछि स्थानीयहरु झन आक्रोशित भएको बताउनुभयो । बोगटीलाई प्रहरीले पक्राउ गरेपछि करिब १५० भन्दा बढी स्थानीय बासिन्दाहरु जिल्ला प्रहरी कार्यालय कैलाली पुगेर धर्ना दिएका थिए । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीको पहलमा लक्ष्मणलाई राति १ बजे छोडेको थियो । लक्ष्मण भारतको हिरोहोण्डा कम्पनीमा काम गर्दै आएका र यहि १५ गते रिटायर हुने भएकाले विदाकालागि उहाँ सोमवार भारत जानुभएको छ । लक्ष्मणलाई पक्राउ गरेपछि एमाले जिल्ला अध्यक्ष सोडारीले घर छोड्नुभएको छ ।
स्थानीय बासिन्दाहरु सोमवार जिल्ला प्रहरी कार्यालय पुग्दा सोडारी टीकापुर भएको जानकारी दिएको स्थानीय बासिन्दा चक्र बोगटीले जानकारी दिनुभयो । आफ्नो पितामाथि सार्वजनिक स्थानमा भएको अभद्र ब्यावहारको विरोध गर्दै एमाले अध्यक्ष सोडारीकी श्रीमती गीताको विरुद्धमा सार्वजनिक मुद्धा दर्ता गर्न गएपनि प्रहरीले मुद्धा दर्ता नगरेको लक्ष्मणका छोरा विक्रम बोगटीले बताउनुभयो । सार्वजनिक स्थानमा बुवालाई गाली बेइज्जती गरेको र काटमार गर्ने धम्की दिएको भन्दै लक्ष्मणका छोरा विक्रमले मुद्धा दर्ता गर्न गएको बताउनुभयो । यसबारेमा बुझ्न खोज्दा एमाले अध्यक्ष सोडारीसंग सम्पर्कं हुन सकेन ।












प्रतिक्रिया