काठमाडौं, २ असार । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रिय विभागको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा एक महिना अवधिको उच्चस्तरीय व्यवस्थापन तालिम संचालन भएको छ । यो तालिम सशस्त्र प्रहरी बलमा पहिलो पल्ट संचालन भएको हो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तिर्थ खनिया र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले बिहिबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक समारोहका वीच सो तालीमको उद्घाटन गर्नुभयो ।
उपकुलपति डा.खनियाले त्यसअवसरमा सिक्ने र सिकाउने कुरा समय अनुसार परिवर्तन हुने चर्चा गर्नुहुँदै सिकाइका दायरा र क्षेत्र विस्तार हुने भएकोले यस प्रकारका तालिम वदलिएका र परिवर्तन भएका कुरा सिक्ने महत्वपूर्ण अवसर भएको बताउनु भयो ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले यस प्रकारका तालिम आफ्नो निकै अघि देखिको सोच भएको स्मरण गर्नुहुँदै यस तालिमलाई बढुवाको हिसावले मात्र नभई आफ्नो वृत्ति विकास र ज्ञान हासिल गर्ने अवसरको रुपमा समेत लिनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘मलाई संगठनले के दियो भनेर सोच्ने हो भने कसैको पनि वृत्ति विकास हुँदैन र यस्तो सोचले राष्ट्रले पनि केही पाउदैन, तर मैले संगठनलाई के दिएँ भनेर सोच्नुहोस् त्यसले संगठन समाज र राष्ट्रको उन्नतिमा ठुलो योगदान पुर्याउछ ।’

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश ओझाले यस प्रकारका तालिमले प्रत्येक अधिकृतलाई कार्य क्षेत्रमा अझ प्रभावकारी सेवा दिन सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनप्रशासन केन्द्रिय विभागका प्राध्यापक डा. श्रीराम श्रेष्ठले कर्तव्य र अधिकार प्राप्त संस्था बाट समाज र राष्ट्रले लाभ प्राप्त गर्न आफै जागरुक र सक्षम हुनुपर्ने बताउनु हुँदै कर्तव्य र अधिकारलाई सन्तुलनमा राखेर राष्ट्रका लागि कार्य गर्न यस प्रकारका तालिमको महत्वपूर्ण भूमीका रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक निराकारम विक्रम शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रशिक्षार्थीको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्राध्यापक डा. टेकनाथ ढकाल र डा. नरेन्द्रराज पौडेल तथा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, प्रेमकुमार शाही र प्रकाश ओझा लगाएत सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।
सो तालिममा नेतृत्व, व्यवस्थापन, प्रशासन, सुरक्षा र द्वन्द्व, सशस्त्र प्रहरी बलको कार्यक्षेत्र र जिम्मेवारी लगाएतका विविध विषयमा प्रशिक्षण दिइने कुरा समारोहमा जानकारी गराइएको थियो ।
तालिममा चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा १६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गरी कुल २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।













प्रतिक्रिया