काठमाडौं, २ असार हरेक वर्ष सरकारले विभूषित व्यक्तिलाई १५ लाख रुपैयाँसम्म पर्ने मानपदवी केही महिनामै दिने गरेको छ । तर, पाँँच हजार रुपैयाँभन्दा कम लागत पर्ने अलंकार र पदक भने सरकारले घोषणा गरेको ६ वर्ष बितिसक्दा पनि वितरण गरेको छैन ।
राज्यमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सरकारले तीन प्रकारका विभूषण घोषणा गर्ने गरेको छ । गणतन्त्र स्थापनापछि ०६७ देखि सरकारले विभूषण दिन थालेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सोही वर्षदेखि नै मानपदवी पाउनेले तक्मा पाउँदै आएका छन् । अलंकार र पदक अहिलेसम्म घोषणामै सीमित छ । मानपदवी उच्चपदस्थ व्यक्तिले पाउँछन् भने अलंकार र पदक तल्लो तहका व्यक्तिलाई दिने गरिएको छ ।
महँगो पर्ने मानपदवी सरकारले हरेक वर्ष बनाएर वितरण गर्छ । तर, सस्तो पर्ने अलंकार र पदकको आसमा भने घोषणा भएका करिब दुई सयजना छन् । तक्मा लिन गृह मन्त्रालय धाएर थाकिसकेको उनीहरू बताउँछन् ।
अलंकार र पदकको डिजाइन र साँचो बनेन
गृह मन्त्रालयका प्रवक्ता शंकर कोइराला अलंकार र पदकको डिजाइन र साँचो समयमा निर्माण हुन नसक्दा तक्मा वितरण गर्न नसकिएको बताउँछन् । तर, ठूला व्यक्तिहरूले पाउने मानपदवी भने ०६७ देखि नै निर्माण गरी वितरण हुँदै आएको छ । राष्ट्र बैंकअन्तर्गतको टक्सार कार्यालयले विभूषणको डिजाइन र साँचो बनाउँछ । तक्मा भने घरेलु कार्यालयले बनाउँछ ।
त्यसको अन्तिम रूप नेपाली सेनाको सुन्दरीजलस्थित ब्यारेकमा हुने गर्छ । अघिल्लो वर्षका पदक र अलंकार निर्माणको काम सेनाको सुन्दरीजल गणमा पुगेको गृहका एक अधिकारीले बताए । अलंकार र पदक कम मूल्यका भएको र अहिलेसम्म नपाएकाले थोरैले मात्र यी पदकप्रति चासो राख्ने गरेका छन् । गृहले धेरैलाई मानपदवी नै दिने गरेको छ ।
कतिले पाए विभूषण ?
यस वर्ष दुई सय ८७ जनालाई विभूषण दिने घोषणा गरिएकोमा सबैलाई मानपदवी दिइएको छ । अलंकार १६ र पदक ६७ जनालाई दिइएको छ । यस वर्ष ५६ हजार दुई सय ७९ जनालाई प्राकृतिक प्रकोप पीडित्तोद्धार पदक दिने निर्णयसमेत भएको छ । सभासद् र संसद्का कर्मचारीलाई पनि संविधान निर्माण पदक दिने तयारी गृह मन्त्रालयको छ । मानपदवीजस्तै राष्ट्रपतिबाटै यस्तो पदक दिन लागिएको हो ।
कुन विभूषण बनाउन कति खर्च ?
मानपदवी : नेपालरत्न, राष्ट्र गौरव, जनसेवाश्री र राष्ट्रद्वीप गरी चार किसिमका मानपदवी छन् । नेपालरत्न बनाउन करिब १५ लाख रुपैयाँ लाग्छ । राष्ट्र गौरव बनाउन करिब १० लाख, राष्ट्रद्वीपको ५० हजारदेखि तीन लाख र जनसेवाश्रीको ५० हजारदेखि तीन लाख रुपैयाँसम्म लाग्छ । राष्ट्रद्वीप र जनसेवाश्री मानपदवी पाँच–पाँच किसिमका छन् । राष्ट्रद्वीपतर्फ महाउज्ज्वल राष्ट्रद्वीप, उज्ज्वल कीर्तिमान राष्ट्रद्वीप, सुर्कीर्तिमय राष्ट्रद्वीप, कीर्तिमय राष्ट्रद्वीप र राष्ट्रद्वीप छन् । त्यस्तै, जनसेवाश्रीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री र जनसेवाश्री विभूषण छन् ।
अलंकार : अलंकार पाँच हजारभन्दा कम मूल्यमा बन्छन् । अलंकार नौ किसिमका छन् । पदक : पदक १३ किसिमका छन् । पदक बनाउन करिब पाँच सय रुपैयाँ लाग्ने गृहका अधिकारीहरू बताउँछन् ।















प्रतिक्रिया