काठमाडौँ, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक राज्य पुनःसंरचनाको चरणमा रहेको बेला लोक सेवा आयोगको परामर्श र कार्यक्षेत्र व्यापक बनेको बताउनुभएको छ ।
लोक सेवा आयोगको ६६ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सर्वसाधारणलाई राष्ट्रसेवामा आकर्षित गर्न र आम जनताको मन जित्न आयोग सफल भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति भण्डारीले नेपालको सबैभन्दा पुरानो र अग्रणी संवैधानिक निकायका रुपमा आयोगले प्राप्त गरेको उपलब्धिको अरुले अनुसरण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले स्थायी सरकारको रुपमा रहको निजामती प्रशासन हाक्ने जनशक्तिको निष्पक्ष छनोटमा विश्वास कायम गराउन सफल आयोगले नयाँ कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले योग्यता प्रणालीमा कुनै सम्झौता नगरी निष्पक्ष र विशिष्टरुपमा उम्दा एवम् सुयोग्य व्यक्ति छनोट गर्न आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा आयोगका सदस्यद्वय डा गोविन्द कुसुम र बिन्दा हाडाले योग्य, निष्पक्षता र समावेशीता लोक सेवाको मापदण्ड भएको बताउनुभयो ।
समारोहमा राष्ट्रपति भण्डारीले आयोगको प्रतीक चिह्न सार्वजनिकीकरण गर्नुभएको थियो ।
समारोहमा राष्ट्रपति भण्डारीले आयोगका वर्षभरिमा सर्वोत्कृष्ट कार्य गर्ने सुपरभाइजर मणिरत्न बज्राचार्य, नायबसुब्बा कल्याणी सिंह र सहयोगी शेरबहादुर चौधरीलाई नगद पुरस्कार एवम् प्रशंसापत्र प्रदान गर्नुभयो ।
विसं २००८ असार १ गते स्थापना भएको आयोगको राजधानीमा मुख्य कार्यालय, पाँच विकास क्षेत्रमा क्षेत्रीय कार्यालय, नौवटा अञ्चल कार्यालय रहेका छन् ।
निजामती प्रशासनमा रहने कर्मचारीको भर्ना, छनोट र सरुवाका लागि अनुमति दिने जिम्मेवारी निभाउँदै आएको पछिल्लो समय आयोगले सरकारी स्वामित्वमा रहेका एवम् सरकारको ५० प्रतिशतभन्दा बढी लगानी भएका सङ्घसंस्थामा समेत परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएको छ ।
आयोगले परीक्षाका फारम अनलाइनमार्फत लिने, उत्तरपुस्तिकाको दोहोरो सम्परीक्षण काम अघि बढाउँदै आएको छ । रासस ९श्रव्य र तस्बिर उपलब्ध छ०













प्रतिक्रिया