– झलक पाली
डोटी, २९ जेठ । डोटी जिल्लामा आगामी असार पहिलो साता दुई दिने जिल्ला बाल भेला गर्ने तयारी शुरु भएको छ ।
शनिबार जिल्ला कल्याण समिति डोटीका संयोजक एवं प्रमूख जिल्ला अधिकारी केशवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला बाल भेला आयोजना गर्ने प्रस्ताव पास गरेको हो ।
वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल डोटीको सहयोगमा महिला तथा बालबालिका कार्यालय डोटीले भेलाको आयोजना गर्ने भएको हो ।
भेला आयोजना गर्न सोही बैठकबाट महिला विकास अधिकृत निर्मला दाहालको संयोजकत्वमा विभिन्न सरोकारवाला निकायहरु सम्मिलित ९ सदस्यीय कार्य दल समेत गठन गरिएको छ ।
सोहि भेलाबाट नयाँ जिल्ला बाल क्लब सञ्जाल गठन गर्ने पनि जनाईएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा बालबालिकाहरुलाई विभिन्न श्रममा लगाईएको, विद्यालय पढाउनबाट वञ्चित गराईएको, बाल दुव्र्यवहार हुने गरेको, बालबालिकाको रकम अन्य क्षेत्रमा खर्च भईरहेको, विभिन्न विद्यालयहरुका छात्रबासहरुमा उचित बसोबास र खानाको व्यवस्था नभएको लगाएतका विषयमा पनि बैठकमा छलफल भएको छ ।
यद्यपी यस्ता बैठक, गोष्ठीहरुमा विषयवस्तुले प्रवेश पाउने गरेको भए पनि व्यवहारिक कार्यान्वयनमा भने जिल्ला बाल कल्याण समितिले काम गरेको देखिंदैन ।
छलफलपछि बाल कल्याण समितिका संयोजक एवं प्रजिअ आचार्यले आवश्यक परेमा अनुगमन गर्न सकिने बताए ।
तीन बालबालिकाले संरक्षक पाए
यसैबिच जिल्ला बाल कल्याण समितिको उक्त बैठकले आफ्ना अभिभावक गुमाएका सरस्वतीनगर गाविस २ बस्ने ९ वर्षीया प्रकाश थापामगरलाई निजकै माईजु नाता पर्ने ललितादेवी थापामगरलाई र सरस्वतीनगर १ बस्ने १५ वर्षीया पूजा मल्ल र १३ वर्षीया राजेन्द्र मल्ललाई सोही ठाउँ निवासी हेमा मल्ललाई संरक्षकको जिम्मेवारी दिने निर्णय समेत गरिएको छ । जसको अनुगमन तथा निगरानी नमूना महिला बहुउद्धेश्यीय सहकारी सँस्था सरस्वतीनगर र महिला तथा बालबालिका कार्यालय डोटीले गर्ने निर्णय पनि गरिएको छ ।
दुई बालबालिका एस्ओएस् बालग्राम धनगढी पठाईने
जिल्ला बाल कल्याण समितिको उक्त बैठकले आफ्नी श्रीमती हत्या अभियोगमा कैद भुक्तान गरिरहेका गाँजरी गाविस २ का महासिंह कुँवरका ११ वर्षीय छोरा तेज बहादुर कुँवर र ७ वर्षीया छोरी भगवती कुँवरलाई उचित लालनपालन र शिक्षाका लागि एस्ओएस् बालग्राम धनगढी कैलालीमा पठाउने निर्णय समेत गरेको छ ।













प्रतिक्रिया