काठमाडौँ, २८ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नेपालीको झुकेको शिरलाई एमालेले उठाएको बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मञ्चको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै महासचिव पोखरेलले दुईसय वर्ष पहिले भएको सुगौली सन्धिमा उठेको शिरलाई बीचमा झुकेकोमा फेरि एमालेले उठाएको दाबी गर्नुभयो ।
उहाँले छिमेकी मुलुकसँग रहेको असन्तुलित सम्बन्धलाई सन्तुलित राख्न एमाले लागेको बताउनुभयो । उहाँले नेपाल भू–परिवेष्टित देश भएको नाताले सबैसँगको सम्बन्ध बराबर राख्न चाहेको उल्लेख गर्नु भयो ।
उहाँले नेपालको यातायात क्षेत्रमा नमिलेका कुरालाई मिलाएर लैजान मञ्चको भूमिका रहेको बताउनुभयो ।
“यातायात क्षेत्रको नीति, कार्यक्रमको बारेमा स्पष्ट दृष्टिकोण बनाएर केन्द्रीय नेतृत्वलाई ध्यानाकर्षण गराउनुहोस् यसलाई नेकपा (एमाले)ले अध्ययन गरी नीतिमा समेट्न पहल गर्नेछ” पोखरेलले भन्नुभयो ।
नेकपा (एमाले)का स्थायी समिति सदस्य तथा उद्योग समितिका संयोजक मुकुन्द न्यौपानेले यातायातको क्षेत्रमा मञ्चले उल्लेखनीय योगदान खेलेको भन्दै राम्रा कुरालाई प्रेरणा र कमजोरीलाई सच्याएर अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा मञ्चले ठूलो भूमिका खेलेको स्पष्ट पार्नुभयो ।
मञ्चका अध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालमा रेल र हवाईको सुविधा कम भएकाले यातायात क्षेत्रको महत्व बढेर गएको बताउनुभयो । उहाँले मुलुकमा २०७२ को चैत मसान्तसम्म २१ लाख ६४ हजार सवारी रहेको उल्लेख गर्नुभयो । रासस













प्रतिक्रिया