दियार वकिर (टर्की), २८ जेठ । टर्कीको दक्षिणपूर्वी सहर मिडयाटमा प्रहरी कार्यालयमा गराइएको विस्फोटको जिम्मेवारी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) ले लिएको छ ।
उक्त सहरमा गराइएको आत्मघाती आक्रमणमा परी दुई महिला प्रहरीसहित छ जनाको मृत्यु भएको थियो ।
पीकेकेले बिहीबार एक विज्ञप्ति जारी गर्दै निरङ्कुश सत्ताको प्रहरी मुख्यालयमा गराइएको आक्रमण पीकेकेका लडाकू डिरोक अमेदले गराएका पुष्टि गरेको छ ।
उक्त प्रहरी मुख्यालय पीकेकेका समर्थकविरुद्धको कुख्यात योजना बनाइने ठाउँ भएकाले आक्रमणको निशाना बनाइएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि इस्तानबुलको मध्यभागमा अवस्थित बेयाजित क्षेत्रमा अज्ञात समूहद्वारा मङ्गलबार गराइएको बम विस्फोटमा कम्तिमा सात प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको छ ।
पर्यटकीय क्षेत्र नजिकै गरिएको उक्त आक्रमणमा ३६ जना घाइते भएका थिए । घटनाको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिइसकेको छैन ।
यद्यपि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले घटनामा प्रतिबन्धित कुर्दिस्तान पार्टीको संलग्नता रहेको दाबी गर्नुभएको छ ।
उहाँले कुर्दिस्तान विद्रोहीका यस्ता आक्रमण नयाँ नभएको भन्दै यसबाट सरकार नतर्सिने बरू अझ सशक्तरूपमा प्रतिरोधमा आउने घटनापछि अस्पतालमा उपचारारत् घाइते तथा उनीहरूका आफन्तसँगको भेटमा बताउनुभएको दुई दिनपछि अर्को घटना भएको हो ।
टर्कीको प्रहरीले मङ्गलबारको विस्फोट योजनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको थियो ।
उनीहरूलाई इस्तानबुलस्थित प्रहरी मुख्यालयमा अनुसन्धानका लागि लगेको एनाटोलियाले बताएको छ । एएफपी















प्रतिक्रिया