बारा, २५ जेठ । बारा जिल्लाको गढिमाई नगरपालिका ७ जितपुरस्थित पहाडी टोलबाट सशस्त्र प्रहरी टोलीले दुई वटा अवैध हतियार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले मंगलबार एउटा सिक्सर पेस्तोल र एउटा कटुवा पेस्तोल बरामद गरेको सशस्त्रका डीएसपी अजय छतकुलीले जानकारी दिए ।
सोही ठाउँस्थित एक घर पछाडि करेसामा खाल्डो खनी पेस्तोल लुकाई राखेको भन्ने जानकारी पाएपछि खटिएको एपीएफ टोलीले सो ठाउँमा करीब तीन फिट गहिरो खाल्डो खनी हेर्दा प्लाष्टिकको डब्बाभित्र प्लाष्टिकले बेरेर राखेको अवस्थामा उल्लेखित पेस्तोल बरामद भएको हो ।
एपीएफ टोलीले बरामद पेस्तोल आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
यसैगबीच सिरहा जिल्लाको इट्टाटार गाविस ६ कमलपुरबाट एपीएफ टोली र स्थानीय प्रहरीले सोमबार बेलुका करीब एक सय ५० केजी गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट इट्टाटारबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीको टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।
विशेष सुराकीको आधारमा खटिएको सो टोलीले त्यसठाउँमा रहेको फुसको मान्छे नबस्ने घरमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजा बरामद गरेको हो ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।












प्रतिक्रिया