पर्वत, २१ जेठ । विश्वका विभिन्न मुलुकका विभिन्न कामको शिलशिलामा रहेका नेपालका पर्वत जिल्लाका बासिन्दालाई एकजुट गर्दै स्वदेशको विकासमा टेवा पुर्याउने उद्देश्यले ‘मातृभूमिका लागि पर्वत सेवा समाज, नेपाल’ नामक संस्था गठन भएको छ ।
विभिन्न मुलुकमा रोजगारी गरिरहेका तथा विशेष गरी पर्वत सेवा समाज इजरायलको पहलमा हालै पर्वतको कुस्मामा भएको भेलाले ‘बाध्यताले देखायो परदेशको बाटो, नभुलौं कसैले जन्मेको माटो’ भन्ने नारासहित सो संस्था गठन गरिएको हो ।
भेलाले अर्जुनप्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा दर्ताको भएको सो संस्थाको दर्ता नम्बर १२४९ रहेको छ ।
संस्थाले मूलतः जिल्लामा स्वास्थ्य, शिक्षा, दैवी प्रकोप लगायतका क्षेत्रमा काम गर्ने अध्यक्ष पौडेलले बताए । उनले नवगठित संस्थाले दलीय राजनीतिक, धार्मिक, साम्प्रदायिक तथा जातीय भावनाबाट मुक्त भएर विशुद्ध सामाजिक विकासका क्षेत्रमा काम गर्ने जानकारी दिए ।
‘पर्वत जिल्लाबाट वैदेशिक रोजगारका लागि इजरायलमा रहेका पर्वतबासीहरूले सन् २०१५ मा पर्वत सेवा समाज, इजरायल नामक संस्था गठन गरि विश्वका विभिन्न ठाउँमा रहेका पर्वतबासीको सहमति, सहभागिता र सहयोगमा पर्वतमा विभिन्न सामाजिक विकास कार्य गरिरहेका थियौं,’ अध्यक्ष पौडेलले भने, ‘अब संस्थालाई इजरायलमा मात्र सीमित नराखी पर्वतवासीहरु रहेका मुलुकमा संस्था गठन गर्ने उद्देश्यले मातृभूमिका लागि पर्वत सेवा समाज, नेपाल गठन गरिएको हो ।’
नेपाल बाहिर संस्थाको शाखा खोल्नका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । जुन देशमा शाखा स्थापना गरिनेछ पुछारमा त्यही देशको नाम रहने अध्यक्ष पौडेलको भनाई छ ।
नवगठित समाजका उपाध्यक्षमा टंक लामिछाने, सचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा दुर्गा सापकोटा र सहसचिवमा रमेश पौडेल रहेका छन् ।
यसैगरी, समाजको सदस्यमा इन्दु तिवारी, गोविन्द अधिकारी, रमेशप्रसाद पौडेल, जगन्नाथ पौडेल, हुमा तिवारी र थमवहादुर सवेदी (राजु) रहेका छन् ।
भेलाले जनकराज रेग्मी, भवानीप्रसाद शर्मा, राजेन्द्र तिमिल्सिना, हरिओम शर्मा लामिछाने, मुक्तिराम सुवेदी, बलराम सुवेदी र रुद्रप्रसाद शर्मालाई संस्थाको सल्लाहकार चयन गरेको छ ।
पर्वत सेवा समाज, इजरायलका महासचिव दिया चापागाईले विश्वभरी रहेका पर्वतबासीलाई एकजुट गरी एकअर्काको सुखदुःखमा साथ दिने तथा आपसी समन्वय र सहयोगका आधारमा जिल्लामा सामाजिक, शैक्षिक लगायतका क्षेत्रको विकासमा टेवा पु¥याउन सो संस्था गठन गरिएको बताइन ।
विधिवतरुपमा समाज गठन भईसकेको छ । निकट भविश्यमा पर्वतवासी रहेका मुलुकमा समाजको शाखा विस्तार गरिने छ । सो कार्यमा सहयोग गरी आफ्नो जन्मभूमिका लागि सक्दो सहयोग गरिदिन हुन सम्पूर्ण पर्वतवासीहरुलाई महाचिव चापागाईले अनुरोध गरेकी छन् ।












प्रतिक्रिया