– माधब न्यौपाने
भैरहवा, १४ जेठ । युएसआइडिको आर्थिक सहयोगमा नमूना एकीकृत विकास परिषद्, केयर नेपाल र लार्क नामक संस्थाहरु द्वारा संचालित शान्तिकालागि संवाद परियोजनाले गरेको काम उत्कृष्ट भएको एक कार्यक्रममा पुष्टि भएको छ ।
द्वन्द्वकालको लामो समयसम्म वितिसक्दापनि सरकार पक्षबाट त्यती उत्कृष्ट कार्य नभएको अवस्थामा पनि परियोजनाले सम्पूर्ण जिल्लाहरुलाई समेट्न नसकेतापनि रुपन्देही र नवलपरासी जिल्लामा विभिन्न द्वन्द्व प्रभावितहरुका लागि सहयोग गर्दै आएको छ ।
परियोजनाले समाजमा भएका द्वन्द्व प्रभावितहरुका लागि पुनर्मिलन, सिपमूलक तालिम, स्वरोजगार कोष जस्ता विभिन्न खालका सहयोग तथ्यपूर्ण भएको कार्यक्रममा सहभागिहरुले बताएका थिए । १० बर्षे जनयुद्धमा राज्य पक्ष र सरकार पक्ष गरी दुबै तर्फबाट भएका द्वन्द्व प्रभावित परिवारका सदस्यहरुका लागि संवाद परियोजनाले पुनरमिलन गराई समाजमा मिलेर एक आपसमा भाइचाराको सम्बन्ध कायम गराएको प्रति सबैले खुलेर सराहना गरेका थिए ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित शान्ति प्रबद्र्धनकालागि राष्ट्रिय स्तरको समीक्षा तथा सिकाई आदान प्रदान कार्यक्रममा बोल्दै विभिन्न द्वन्द्व प्रभावित परिवारको तर्फबाट रुपन्देहीका मञ्जीत यादव र नवलपरासीका देवकला खनालले आफुहरुलाई अहिलेको अवस्थामा ल्याउन सम्वाद परियोजना नै पहिलो स्थानमा पर्ने बताएका थिए । परियोजनाले दिएको तालिमबाट अहिले उनीहरु आत्मनिर्भर भइसकेर परिवारमा खुसि ल्याएको समेत बताउँदै आगामी दिनमापनि यो परियोजनाले निरन्तरता पाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव महेश शर्मा पौडेलले संवाद परियोजनाको कामबाट आफु खुसी भएको बताउँदै अन्य जिल्लाहरुमापनि यस्ता कार्यक्रमको आयोजना गर्नको लागिपनि आग्रह गरेका थिए । उनले ढिलै भएपनि भर्खरै मात्र सरकार पक्षबाटपनि द्वन्द्व प्रभावितहरुको न्यायको लागि दुईबटा आयोगहरु गठन भई उजुरी संकलनको काम सुरु भएको बताउँदै पिडित व्यक्तिले जसरिपनि कार्वाही भोग्नैपर्ने दावी गरे । हालसम्म वेपत्ता पारिएका व्यक्तिहरुको हकमा १४ सय उजुरीहरु दर्ता भएको बताउँदै सचिव पौडेलले पिडकले जबसम्म सजाय पाउँदैन तबसम्म पिडितले न्याय नपाउने भएकोले आफुहरु राजनितिक दलले गरेको सम्झौताको पछि नलागि कानुनले बताएको बाटोमा लाग्ने समेत दावी गरे ।
कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव गोविन्द खनालले संवाद परियोजनाले गरेका कामले समाजमा पारेको प्रभावको सकारात्मक धारणा राख्दै यसबाट सरकारले पनि केही पाठ सिक्नुपर्नेमा आफु सकारात्मक भएको बताए । उनले द्वन्द्वप्रभावितहरुको लागि ढिलै भएपनि अव सरकारले केही गरेरै छाडने दावी गर्दै अव समाजमा द्वन्द्वलाई निरुपण गरी सान्ति स्थापना हुनेमा सबैलाई ढुक्क हुन आग्रह समेत गरे ।
त्यस्तै कार्यक्रममा शाान्ति तथा पुननिर्माण मन्त्रालयका सहसचिव जीवराज कोइरालाले अन्य एनजीओहरु डोनरहरु प्रति बढी उत्तरदायी हुने भएपनि सम्वाद परियोजना पिडित जनताप्रति उत्तरदायी रहेकोमा खुसी व्यक्त गरेका थिए । साथै उनले सरकारी निकायबाट पनि हालका दुइ आयोगले केही गरेरै छाडनेमा आफु विश्वस्त रहेको बताउँदै सबैलाई केही समय पर्खन आग्रह गरे ।
कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले द्वन्द्वमा संलग्न दुवै पक्षबाट भएको घटना निकै दुखदायी भएतापनि भर्खरै मात्र नेपालले विश्वमै उत्कृष्ट संविधान पाएकोमा यो एकदमै ठुलो उपलब्धि भएकाले द्वन्द्वकालको पिडालाई केही भएपनि भुलाउन सहयोग गरेको बताए । उनले यो संवाद परियोजनाले समाजमा भएका द्वन्द्व प्रभावितहरुलाई लक्षित गरी स्वरोजगार, पुनरमिलन, आत्मनिर्भर बनाउने जस्ता महत्वपूर्ण कार्य गरेकोले यसको अमय अवधि अझ थप गर्नुपर्ने बताए ।
कार्यक्रममा अमेरिकाबाट आएकी संवादको परियोजना प्रबन्धक मारिया व्यारोनले यस परियोजनाबाट नेपाल सरकारलेपनि केही कुरा सिक्नुपर्ने बताएकी थिइन । उनले ३ बर्षसम्म संचालित सम्वाद परियोजनाको समय अव सकिएपनि यसबाट हालसम्म भएका उपलब्धिहरु सबैलाई आदानप्रदान गर्दै ती कामहरुलाई निरन्तर रुपमा लागु गर्न समेत सुझाव दिइन ।
त्यस्तै नेपाल टेलिभिजनका पत्रकार आरति चटौतले द्वन्द्वकालको घटनाले जति अन्य नागरिकलाई छोएको छ त्यति सरकारलाई नछोएको तावी गरिन् । तत्कालीन द्वन्द्वबाट नेताहरु कुर्सीमा पुगेकोले अब उनीहरुलाई पिडित जनताको कुनै वास्ता हुन छाडेको बताउँदै चटौतले सान्ति सम्झौता भएको ४५ दिनभीत्र गठन हुुनुपर्ने छानवीन आयोगहरु ९ बर्षपछि गठन गरिएको र त्यो पनि हाल सम्म विवादमै रहेको भन्दै नेताहरुले पिडित जनताको आँखामा छारो हाल्ने काममात्र भएको बताइन ।
केयर नेपालका एसिस्टेन कन्ट्री डाइरेक्टर पपुलर जेन्टलको अध्यक्षता, नमूना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौड्यालको सह अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय शाान्ति समिति रुपन्देहीका पुर्व संयोजक जगरनाथ प्रसाद कुर्मी, स्थानीय शाान्ति समिति कपिलवस्तुका कार्यालय सचिव यमुना मरासिनी, स्थानीय शाान्ति समिति पाल्पाका संयोजक प्रेम बस्याल, स्थानीय शाान्ति समिति नवलपरासीका पुर्व संयोजक हैदरअली मोमिन, स्थानीय शाान्ति समिति रुद्रपुरका संयोजक तारानाथ आचार्य लगायतले बोल्दै सरकारले हालसम्म पिडितहरुका लागि खासै उपलब्धिमूलक काम नगरेको भएतापनि संवाद परियोजनाले गरेको कामको प्रशंसा गरेका थिए ।













प्रतिक्रिया