काठमाडौं, १४ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले हत्या र अपहरणका घटना बढ्न थालेको भन्दै चिन्ता जनाएको छ ।
कांग्रेसले आज विज्ञप्ति जारी गरेर व्यक्ति अपहरण, गोली हान्ने जस्ता घटनाले सर्वसाधारण आतंकित भएको भन्दै शान्ति सुरक्षाको माग गरेको हो । ‘अपहरण र गोली प्रहारका यस्ता घटनाहरू पुनः नदोहरिने वातावरणको निर्माण गर्नुका साथै आमनागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन समेत माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
उद्योगपति एवं केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियालाई बाराको कलैयाबाट बिहीबार राति अज्ञात समूहले गरेको अपहरण तथा उहाँको सवारी चालकमाथि गोली प्रहार गरी गम्भीर घाइते बनाइएको घटनाप्रति कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।
‘कुनै पनि नागरिकको अपहरण हुनु अत्यन्त दुःखद र संवेदनशील विषय हो’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आपराधिक क्रियाकलापको कांग्रेस सधै घोर निन्दा र भत्र्सना गर्दछ । नागरिकले शान्तिपूर्ण र स्वतन्त्र रुपमा बाँच्न पाउनु पर्छ भन्ने सदैव मान्यता रहँदै आएको छ ।’
कांग्रेसले अपहरित उद्योगपति केडियाको सकुशल रिहाईको माग गरेको छ । उसले शान्ति सुव्यवस्थालाई नै खल्बल्याई आमनागरिकमा डर र त्रासको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक समूह र व्यक्तिहरूको तत्काल खोजी गरी उनीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न माग गरेको छ ।
बिहीबार साँझ वीरगञ्जका व्यापारी सुरेशकुमार केडियाको अपहरण हुनुका साथै उहाँका चालकलाई गोली प्रहार भएको थियो । घटनाको चौतर्फी विरोध भइरहेको छ ।












प्रतिक्रिया