काठमाडौं, १३ जेठ । राजधानीको मुख्य प्रवेशद्वार कलंकीमा आज २९ दलीय संघीय गठबन्धनले विशाल सभा गर्दैछ ।
राजधानी केन्द्रीत आन्दोलनमा होमिएको गठबन्धनले दिउँसो दुई बजे सोल्टी मोडमा जम्मा भएर आफ्नो सम्बोधनका लागि सरकार विरुद्व नाराबाजी गर्दै र्याली कलंकी चोक पुग्नेछ ।
गत जेठ १ गतेदेखि राजधानीमा आन्दोलनरत गठबन्धनले विरोध प्रदर्शन थालेको आज १३ दिन पुगेको छ । सिंहदरबार र वालुवाटार घेराऊ पछि गठबन्धनले राजधानीको प्रभावकारी ८ स्थानमा विशाल विरोध प्रदर्शन गरिसकेको छ ।
सविधान पुनर्लेखनको जनस्तरबाट दबाब सिर्जना गर्ने र जारी आन्दोलनमा जनताको व्यापक सहभागिताका लागि गठबन्धनले थालेको जनजागरण अभियानमा पछिल्लो समय जनताको बृहत् सहभागिता बढ्दै गएपछि गठबन्धन झनै हौसिएको छ ।
जसले गर्दा गठबन्धनको आन्दोलनमा पछिल्लो समय काठमाडौंको विभिन्न स्थानमा भइरहेका विरोध सभाहरु दिनप्रतिदिन झन् प्रभावकारी र व्यवस्थिति हुँदै गएका छन् ।
संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः लगायतका दल तथा संगठन आबद्ध छन् ।
वार्ता मार्फत् समाधानका लागि आफूहरु तयार रहेपनि संविधान पुनर्लेखन गर्ने गरी माग सम्बोधन सार्वजनिक प्रतिबद्धता सरकारबाट नआएसम्म आन्दोलन जारी रहने गठबन्धनले जनाएको छ ।













प्रतिक्रिया