बैतडी, २२ साउन । बैतडीको वीरेन्द्र उच्च मावि, शाहीलेक परीक्षा केन्द्रमा चलिरहेको एसएलसी पूरक परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसहितको टोलीले आफैँ निरिक्षण गरेका छन् ।
प्रजिअ आफैँ आएर परिक्षा केन्द्रको निरिक्षण गरेर परीक्षार्थीलाई आतङ्कित पारेको भन्दै शिक्षकहरुले भने आक्रोस पोखेका छन् ।
प्रजिअ पाठकसहितको टोलीले परीक्षाहलबाट विषयगत शिक्षकहरुलाई बाहिर निकालेर जाँच गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
शाहीलेक परीक्षा केन्द्रबाट गणित विषयको परीक्षामा मात्रै चार बोराभन्दा बढी चिट बरामद गरिएको छ ।
प्रजिअ पाठकसहितको टोलीले पूरक परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थी र एक शिक्षकलाई पक्राउ गरेका थिए ।
विणेश्वर मावि, न्वादेउका विद्यार्थी खड्क कुँवरको नाममा परीक्षा दिइरहेका सोही ठाउँका सुरेन्द्र बोहरालाई पक्राउ गरिएको हो ।
नक्कली परीक्षार्थी बनेका बोहरा बिएस्सीमा अध्ययनरत रहेको प्रारम्भिक अनुसन्धानका क्रममा थाहा भए पनि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सोही विद्यालयका शिक्षक नरेश धामीलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
बैतडीका विभिन्न ठाउँबाट एक हजार ९ सय ९६ विद्यार्थी एसएलसी पूरक परीक्षा दिन सदरमुकाम आएका छन् ।
















प्रतिक्रिया