काठमाडौं, ७ जेठ । भगवान बुद्धको २५६० औं जन्मोत्वसका अवसरमा गेट कलेजमा ‘पवित्र वैशाख’ महिनाअन्तर्गत बुधबार नेपाल–श्रीलंका मैत्री दिवसको आयोजना गरियो ।
७० प्रतिशत बौद्धमार्गीको बसोबास रहेको श्रीलंका र भगवान शाक्यमुनि गौतमबुद्धको पवित्र जन्मभूमि नेपालबीचको दौत्यसम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले नेपाल–श्रीलंका मैत्री दिवस आयोजना गरिएको गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले जानकारी दिनुभयो ।
प्रथम अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा भाग लिन आएका श्रीलंकाको बुद्धमन्त्रालयका उच्चपदाधिकारीहरू, नेपालस्थित श्रीलंकाली राजदूतावासका कुटनीतिक कर्मचारीहरू, सार्क सचिवालयमा कार्यरत श्रीलंकाका प्रतिनिधिहरू, श्रीलंकाको होटल तथा पर्यटन व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका विश्वविद्यालयका प्राध्यापकहरूसहित नेपालको पर्यटन क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि श्रीलंकाका राजदूत श्री डब्लू. एम. सेनेविराथनाले करिब २ हजार वर्षअघिदेखि श्रीलंकामा बौद्धमार्ग विस्तार भएको स्मरण गर्दै भगवान शाक्यमुनि गौतमबुद्धको जन्मथलो भएकाले श्रीलंकाका बौद्धमार्गीहरूले नेपाललाई अति नै पवित्र भूमि मान्दै आएको बताउनु भयो ।
सन् २०१४ मा श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेले लुम्बिनीको भ्रमण गरेको प्रसंग उल्लेख गर्दै राजदूत डब्लू. एम. सेनेविराथनाले निकट भविष्यमै नेपाल र श्रीलंकाबीच हुने सोझो उडानले नेपाल आउन चाहने श्रीलंकालीहरूलाई अझ सहजता पुग्ने चर्चा गर्नु भयो ।
राजदूत सेनेविराथनाले नेपाल र श्रीलंकाबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन हालै गेट कलेजमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीहरूले ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमअन्तर्गत श्रीलंकाको भ्रमण गरेको जानकारी दिँदै उहाँले आगामी दिनमा यस्ता द्विपक्षीय सम्बन्ध विस्तार गर्ने थप कार्यक्रमहरूको आयोजना गरिने जानकारी दिनु भयो ।
कार्यक्रममा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले नेपाल भगवान शाक्यमुनि गौतम बुद्धको जन्मभूमि भएको र श्रीलंका ७० प्रतिशत बौद्धमार्गी जनतासहित साँचो बुद्धमार्ग अपनाउने देश भएकाले यी दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउनु पर्ने धारणा राख्नु भयो ।
नेपाल र श्रीलंकाबीचमा प्रत्यक्ष हवाई सेवा नहुँदा दक्षिण एसियाको नजिकको छिमेकी भएर पनि टाढा भएजस्तो अवस्था विद्यमान रहेको भन्दै उहाँले निकट भविष्यमै सुरु हुने काठमाडौं–कोलम्बोको सोझो हवाई उडानले सम्बन्धलाई नजिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्व डिन प्रा.डा. रमेशराज कुँवरले त्रिविमा आफू डिन हुँदा सुरु गराएको र श्रीलंकामा समेत अध्यापन गराइने द्वन्द्व, शान्ति र विकास अध्ययन (कन्फ्लिक्ट, पिस एन्ड डेभलमेन्ट स्टडिज)को अध्ययनमा नेपाल र श्रीलंका दुवै देशका विद्यार्थी लाभान्वित भएको स्मरण गर्नु भयो ।
दुवै देश द्वन्द्वबाट गुज्रिएका हुनाले अब दुवैले साझा ‘पिस टुरिजम’ थाल्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाल–श्रीलंका शैक्षिक आदान–प्रदानअन्तर्गत हालै गेट कलेजकी अध्यक्ष प्रा.डा मीनासिंह खड्काको नेतृत्वमा होटल व्यवस्थापनका ५ विद्यार्थी श्रीलंका भ्रमणमा गएका थिए ।













प्रतिक्रिया