१७ कार्तिक २०८३, मंगलबार

प्रेस चौतारीको आठौं महाधिवेशन, दुई प्यानलमा कडा प्रतिस्पर्धा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-chautariकाठमाडौँ, ५ जेठ । एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपाल आठौंँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ ।

नयाँ संविधान अनुकूल विधान र नेतृत्वको कार्यसूची भएकाले नेतृत्वका आकाङ्क्षी बढ्दा नेतृत्वमा रोचक भिडन्त हुँदै छ । चौतारीको महाधिवेशन जेठ ६ देखि ८ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ ।

महाधिवेशनको नारा ‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन, आवास तथा अन्य तयारी पूरा भएको छ ।

चुनावी प्रचारका लागि बागबजार र आसपास क्षेत्रमा एमाले पत्रकारको भिड लाग्न थालेको छ । भावी अध्यक्षमा पूर्वमहासचिव गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । बस्नेत र नेपाल प्यानलसहित मैदानमा छन् ।

चौतारीको अध्यक्षपछिको आकर्षक मानिएको महासचिवको भिडन्तमा भने वर्तमान सचिव गणेश पाण्डे र राजेश राई मैदानमा छन् ।

चौतारीले संस्थाले ७५ जिल्लामा शाखा विस्तार गरेको छ । ठूला साना सबै दलआबद्ध पत्रकारका आफ्ना पेसागत संस्था क्रियाशील हुने क्रममा प्रेस चौतारी एमाले निकट संस्था बनेको छ ।

२०४८ सालमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन गठनको आठ वर्षपछि चौतारी स्थापना भएको हो ।

२०५५ मङ्सिर २७ मा अनामनगरस्थित पत्रकार हेम पाठकको निवासमा अग्रज गोपाल थपलिया, डा कुन्दन अर्याल, अग्निशिखा, गोकुल बास्कोटालगायतको भेलामा प्रगतिशील पत्रकारबीच साँझा संस्थाको आवश्यकता महसुस गरी चौतारी गठन गर्ने निर्णय भएको थियो ।

पत्रकार तथा साहित्यकार विजय चालिसेको अध्यक्षतामा २०५५ माघ २२ मा विधिवत दर्ता भएको थियो । त्यसपछि शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, गगन विष्ट र राजेन्द्र अर्याल अध्यक्ष भइसकेका छन् ।

तीन कार्यकाल अध्यक्ष बनेका श्रेष्ठले भने, ‘यसमा पार्टीले हस्तक्षेप गर्नु हुँदैन । वैचारिक सम्बन्ध होला तर पार्टी कार्यकर्ता यसको नेतृत्वमा आउनुर्छ भन्ने मान्यता होइन । पत्रकारले नेतृत्व गर्ने हो । पत्रकार गुटबन्दीमा लाग्नु हुँदैन ।’

पूर्वअध्यक्ष विष्ट श्रमजीवी पत्रकारको अगुवाई तथा कानुनी राज स्थापना, दण्डहिनताको अन्त्य गर्न र वामपन्थी पत्रकारलाई समेट्न चौतारी सक्षम हुनुपर्ने बताउछन् ।

चौतारी श्रमजीवी पत्रकारको हितमा उभिएर व्यावसायिक पत्रकारिताको यात्रामा अघि बढ्नुपर्ने विष्ट बताउछन् ।

चौतारीका महासचिव तथा भावी अध्यक्षका दाबेदार माधव नेपालका अनुसार हाल कुल आठ हजार साधारण सदस्य रहेको संस्थाको महाधिवेशनमा देशभरबाट करिब ७०० प्रतिनिधि ९पार्षद्० आउने छन् ।

नेपालले पत्रकारलाई सीप र दक्षताका लागि जोड दिन सरकारले गठन गर्ने राष्ट्रिय आमसञ्चार प्रतिष्ठानलाई अगाडि बढाउने र श्रमजीवी पत्रकारको हक हितका लागि थप सक्रिय हुनु आगामी कार्यभार रहेको बताए ।

यसअघि २०६९ फागुन २५–२९ मा विराटनगरमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अर्यालको अध्यक्षतामा नेतृत्व निर्वाचित भएको थियो । रासस