
– विकाश पराजुली
बुटवल, ४ जेठ । २५ सय ६० औं बुद्धजयन्ती तथा लुम्बिनी उत्सव नजिकिदै गर्दा लुम्विनीमा यसको तयारी तीब्र पारिएको छ । लुम्विनी विकास कोषका विभिन्न तयारी उपसमितिहरुले दिनरात काम गरिरहेका छन् ।
लुम्विनीको मायादेवी मन्दिर, परिक्रमा पोखरी र विभिन्न सर्भिस सडकहरुमा सरसफाई र रंगरोगनका कामहरु भइरहेका छन् । दुइ पटक टेन्डर आब्हान गर्दा समेत ठेक्का नलागेपछि कोषले मायादेवी मन्दिरको रंगरोगन,पोखरीहरुको सरसफाई लगायतका कामहरु अमानत प्रकृयाबाट गराइरहेको छ । चारैतिर झण्डा,तुल ब्यानर र पतकाहरुले लुम्विनी विकास कोष क्षेत्र दुलही झैं सिंगारिएको छ । कोष क्षेत्रभित्र बगैंचाहरुको मर्मत, सडकहरुको मर्मत, फुटेका टायल वा ईंटाको मर्मत लगायतका काम गर्न दैनिक २ सय भन्दा बढी कामदार खटाइएका छन् ।
परिक्रमा पोखरी वरिपरिको घांस काटेर सफा गरिएका कारण त्यो क्षेत्र सुन्दर देखिएपनि पोखरीमा पानी सुकेका कारण केही खल्लो महसुस भएको छ । कोषले आफ्नो क्षेत्र भित्र र वाहिर समेत सरसफाइका काम गरिरहेको कोषका प्रशासन प्रमुख चुरामणी भट्टराइले बताए ।
शान्तिदीप देखि मायादेवी मन्दिर,पर्सा चौराहादेखि बुद्ध जयन्तीको मूख्य समारोह स्थल म्यूजियमसम्म र केन्द्रिय नहरको दायांबायां समेत ध्वजापतकाले झकिझकाउ पारिएको छ ।
कोष क्षेत्रभित्र र वाहिर बनाइएका अस्थायी टहरा, टंकी, त्रिपालहरु हटाएर मायादेवी मन्दिर प्रवेश गर्ने मूख्यद्धार खाली गरिएको छ । उक्त क्षेत्रमा जेष्ठ ६ देखि ८ गतेसम्म सवारी पार्किङ समेत निषेध गरिएको लुम्विनी विकास कोषका सुरक्षा अधिकृत लिला बहादुर श्रेष्ठले बताए ।
बुद्ध जयन्ती मूल समारोह स्थलमा भब्य टेन्ट लगाउन भैरहवा स्थित पटवा टेन्टसंग २० लाख रुपियांमा सम्झौता गरिएको छ । काठमाण्डौंमा आयोजना हुने बौद्ध गोष्ठीमा सहभागी हुन आउने विदेशी पाहुनाहरु समेत बुद्ध जयन्तीका अवसरमा लुम्विनी आउने कार्यक्रम रहेकाले लुम्विनीको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
लुम्विनी उत्सवको तयारी तीब्र
बुद्ध जयन्तीको अवसर पारेर होटल एशोसिएसन लुम्विनीले आयोजना गरेको लुम्विनी उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उत्सवको तयारी स्वरुप लुम्विनी स्थित महिलवार बजार सिंगारिएको छ । प्रत्येक घरमा दीपावलीका लागि स्थानीयले तयारी गरेका छन् ।
लुम्विनी उत्सवकै अवसरमा मूख्य द्धार सहित अधिकांश क्षेत्रमा भएको फोहोर हटाउन मंगलवार बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । होटल एशोसिएसनले आयोजना गरेको सरसफाई कार्यक्रममा स्थानीय युवा क्लव,महिला समूह,नागरिक वडा मञ्च, प्रहरी, रिक्सा तथा पर्यटन ब्यवसायीहरु समेत सहभागी हुंदैछन् । एशोसिएसनको पहलमा पहिलो पटक लुम्विनीका प्रत्येक घरबाट एकएक जना सरसफाइमा सहभागी हुने लुम्विनी उत्सवका संयोजक प्रदीप आचार्यले बताए ।
उत्सव अन्तर्गत ६ देखि ८ गतेसम्म सांझमा स्थानीय विराहा संस्कृतिको प्रदर्शन गर्ने, दीपावली गर्ने, फूल मुन प्रे गर्ने, बौद्ध प्रार्थना गर्ने, बुद्ध जयन्तीमा सहभागी हुन आउनेहरुलाई निशुल्क चिसो पानी खुवाउने, प्राथमिक उपचार सेवा पुर्याउने लगायतका कार्यक्रम छन् ।












प्रतिक्रिया