– दशरथ घिमिरे
देउखुरी, २ जेठ । दाङको देउखुरीमा दुई ठूला अस्पताल बनाउने प्रकृया सुरू भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लमही र भालुवाङमा रहेको स्वास्थ्य चौकीको स्तरवृद्धि गरी अस्पताल बनाउने प्रकृया सुरू भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी अस्पताल बनाउने प्रकृया सुरु गरेको हो । यसका लागि पटक–पटक स्थानीयस्तरबाट डेलिगेशन टोली काठमाडौं पुगी दबाब दिँदै आएको थियो । लमही भालुवाङमा स्वास्थ्य चौकीको स्तरवृद्धि भएपछि उपचारका लागि घोराही पुग्नु पर्ने बाध्यता केही हदसम्म भए पनि कम हुनेछ ।
प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी अस्पताल बनाउन पहिलो चरणको ओएनएम सर्वे गरिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले जानकारी दिनुभयो । ‘स्थानीय स्तरवाट ५० बेडको अस्पतालको माग गरिएको छ’, चौधरीले भन्नुभयो ।
‘देउखुरीमा अस्पताल नहुँदा नागरिकले स्वास्थ्य सेवा लिन निकै दुःख र खर्च गरिरहनु परेको छ’, चौधरीले भन्नुभयो, ‘अस्पताल बनाउने प्रकृया सुरू भयो, अब यसलाई पूर्णता दिन खबरदारी आवश्यक छ ।’
आफ्नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बनेका रामजनम चौधरीलाई भेट गरेर फोरम लोकतान्त्रिकका मुख्य सचेतक चौधरीले लमही र भालुवाङमा अस्पताल बनाउने व्यक्तिगत रुपमै दबाब दिँदै आउनुभएको थियो ।
तीन महिनाभित्र देउखुरीमा अस्पतालको टुङ्गो लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव वावुराम खनालले बताउनु भएको छ । ‘१५ दिनभित्र सर्वेको काम सकिन्छ’, खनालले भन्नुभयो, ‘समितिले फाइल स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश हुन्छ ।’
उता, सामान्य प्रशासनमन्त्री रेखा शर्माले देउखुरीमा दुई अस्पताल बनाउनका लागि आफ्नो मन्त्रालयबाट हुने सबै खाले सहयोग गर्ने आश्वासन दिनुभएको छ । ‘लमही र भालुवाङका स्वास्थ्य चौकीको स्तर वृद्धि गरी अस्पताल बनाउने विषयमा अध्ययन गर्न टोली गएको छ । पछि के रिपोर्ट ल्याउँछ हेरेर मन्त्रिपरिषदबाट गर्नुपर्ने सहयोग गर्छु ।’
‘अहिलेसम्म ओएनएम सर्वे हुन सकेको थिएन, हाम्रो दबाबले यो सम्भव भयो’, सहयोग समितिका संयोजक गंगाराम भट्टराईले भन्नुभयो, ‘तीन–चार महिनाभित्र केही प्रगति हुन्छ ।’
मन्त्रालयबाट उपसचिव बाबुराम खनाल, गेजेन्द्रनाथ शर्मा र तथ्याङ्क अधिकृत शिवलाल शर्माको टोलीले सर्वेको काम गरेको थियो ।












प्रतिक्रिया