३० आश्विन २०८३, शुक्रबार

म्याग्दीमा पहिरोका कारण सात घरपरिवार विस्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

myagdi_district-Map

म्याग्दी, २० साउन । म्याग्दीको भकिम्ली–९ तोराखेतबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ को वगरफाँट गाउँ खतरामा पर्नुका साथै तोराखेतका सात घरपरिवार पनि विस्थापित हुने अवस्थामा पुगेका छन् ।

केही दिनअघि देखिको निरन्तर भएको बर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन धाँजाधाँजा भएर चर्केको र त्यहीँबाट पहिरो खस्न थालेको तोराखेतका स्थानीय बासिन्दा टेकबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार तोराखेतको कृषि सडकदेखि तल झाँकीस्थानसम्मको सम्पूर्ण जमिन तलतिर लच्केको छ भने बाटोमाथिको जङ्गलसमेत तलतिर बग्न थालेकाले वगरफाँटको कुरुङदी र जरुवा क्षेत्रका करिब ५० घरपरिवार उच्च जोखिममा रहेका छन् ।

विगतका वर्षहरूमा पनि बर्खायाममा निरन्तर रूपमा पहिरो खस्ने र स्थानीय बासिन्दा विस्थापित हुने गरेका स्थानीय बासिन्दाले बताएका छन् । पहिरो नियन्त्रणका लागि सानो बजेट र प्रयासले सम्भव नहुने हुँदा केन्द्रीयस्तरको कार्यक्रम नै आवश्यक रहेको जिल्ला विकास समितिले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको एक टोली पहिरो प्रभावित क्षेत्र वगरफाँटमा पठाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले पनि निरन्तररूपमा पहिरो खसिरहेको छ ।

चर्केको भाग पूरै खस्ने हो भने म्याग्दी नदी थुनिन सक्ने र सदरमुकाम बेनीबजार नै खतरामा पर्न सक्ने पहिरोस्थलमा पुगेका स्थानीय टेकबहादुर मल्लले बताउनुभयो ।