काठमाडौं, २९ वैशाख । नाकाबन्दीका बेला भारतका दुई संसदमा प्रवेश गरेको नेपाल मामिलाले बुधबार फेरि तल्लो सदन लोकसभामा प्रवेश पाएको छ ।
अलोचना गर्दै भारतको सत्तारुढ दल बीजेपीका सांसदले प्रवेश गराएको नेपालको पक्षमा प्रतिपक्षी भारतीय कांग्रेसका सांसद बोलेका थिए । नेपालको विषयमा सत्तारुढ र प्रतिपक्षी सांसदकाबीच भनाभन भएको भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले जनाएको छ ।
नेपाल मामिलालाई लोकसभामा प्रवेश गराएका बीजेपी सांसद निशिकान्त दुबेले चीनको समर्थनमा नेपालले भारतलाई धम्क्याएको आरोप लगाए ।
उनी यतिमै रोकिएनन्, अगाडि भने– ‘नेपाल चीनतर्फ झुक्यो । दिल्लीबाट आफ्नो राजदूत फिर्ता बोलायो । राष्ट्रपतिको भ्रमण रद्द गरेर भारतको अपमान गर्यो । अब नेपालमा रहेका हाम्रा (भारतीय) राजदूतलाई फिर्ता पठाउने षडयन्त्र गर्दै छ । आफैमा कमजोर भएपनि चीनको आडमा भारतलाई धम्की दिइरहेको छ । अब भारतले कठोर नीति अबलम्बन गर्दै नेपालका सीमाहरुमा पाकिस्तान र बंगलादेशजस्तै तारबार हाल्नुपर्छ ।’
दुबेले यति धेरै आरोप लगाएपछि प्रतिपक्षी भारतीय कांग्रेसका सांसद जयतिर आदित्य सिंधियाले जुरुक्क उठेर त्यसको प्रतिवाद गरे । उनले आफ्नो छिमेकीविरुद्ध त्यस्तो आरोप लगाउन नहुने भन्दै दुबेको विरोध गरे । उनलाई धेरै सांसदले साथ दिए । त्यसपछि संसदमा दुबै पक्षका सांसदहरुबीच भनाभन सुरु भयो । सभामुखलाई एकछिन संसद सम्हाल्नै धौ धौ पर्यो ।
यसअघि नाकाबन्दीको समयमा माथिल्लो सदन राज्यसभामा नेपाल मामिलाबारे छुट्टै छलफल भएको थियो ।













प्रतिक्रिया