झलारी (कञ्चनपुर), २९ वैशाख । सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीले विपद आउनु पूर्व अपनाउनुपर्ने सुरक्षात्मक उपाय (Safe Behaviour) सम्बन्धी विद्यालयस्तरीय सचेतनात्मक अभियान स्वरुप चन्द्र सूर्य उच्च माध्यामिक विद्यालय झलारीमा प्रशिक्षण कार्यक्रम गरेको छ ।
सशस्त्र प्रहरी बल, शैलेश्वरी गणले आगलागी, बाढीपहिरो तथा विपद् जोखिम न्युनिकरण सम्बन्धि जनचेतना कार्यक्रम सन्चालनमा ल्याएको छ । प्रचण्ड गर्मीसंगै देशव्यापी रुपमा आगलागीको समस्या विकराल रुपमा देखा परेको तथा बर्सेनी हुने बाढीपहिरो तथा अन्य प्रकोप हरुलाई समेत नियन्त्रण तथा न्युनिकरण गर्न जनचेतना अभिवृद्धि गर्ने संगठनको नीति अनुरुप सो कार्यक्रम सन्चालन गरिएको हो ।
विपद् व्यवस्थापनमा लामो अनुभव सम्हाल्नु भएका सशस्त्र प्रहरी बल शैलेश्वरी गणका सशस्त्र प्रहरी निरीक्षक योग्य बस्नेत प्रमुख प्रशिक्षक रहनु भएको उक्त कार्यक्रमहरुमा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन टिमबाट समेत प्रशिक्षण दिलाईएको थियो ।
उक्त कार्यक्रममा विभिन्न किसिमका विपद्हरु अझ विशेष गरी भूकम्पमा अपनाउनुपर्ने व्यक्तिगत सुरक्षात्मक उपाय, संरचनात्मक एवं गैर संरचनात्मक सुरक्षा उपाय सम्बन्धमा प्रशिक्षण दिलाईएको थियो ।
उक्त विद्यालयमा कक्षा ९ र १० मा अध्यनरत ९० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको उपस्थिती रहेको उक्त प्रशिक्षण कार्यक्रममा नेपाल लगायत विभिन्न मुलुकहरु जस्तै हाईटी, पाकिस्तान, जापान, ईन्डोनोसिया, चीन आदी देशहरुमा आएका विभिन्न विपत्तीहरु, असर र यसको व्यवस्थापन सम्बन्धी सचित्र भिडियो प्रर्दशन गर्नुका साथै व्यक्तिगत सुरक्षात्मक उपाय सम्बन्धमा व्यावहारिक ज्ञान तथा नियन्त्रणका उपायबारे इन्सपेक्टर बस्नेतले सशस्त्र प्रहरीले खेल्ने भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो ।
कञ्चनपुर जिल्ला प्राकृतिक सौन्दर्यताका साथै यसको भौगोलिक बनावटले गर्दा विभिन्न किसिमका विपत्तीहरु जस्तै भूकम्प, महकाली लगाएतका नदीमा बाढी, पहिरो, सवारी दुर्घटना, हावाहुरी, चट्याङ्ग र आगलागीबाट समेत संवेदनशिल रहेकोले यसको सामना गर्नको लागि उत्थानशिल समुदाय (Resliifent) बनाउन जरुरी देखिएकोले उक्त सचेतनात्मक कार्यक्रम सञ्चालन गरिएको हो । यस अघि झलारीको वेस्ट प्वाइन्ट उच्च मावि लगायत अन्य विद्यालयहरुमा संचालन गरि सकिएको सो कार्यक्रम निकट भविष्यमा कंचनपुर जिल्लाका अन्य विद्यालयहरु तथा विभिन्न संघ सस्थाहरुका बिचमा पनि सन्चालनमा ल्याइने शैलेश्वरी गणले जनाएको छ ।













प्रतिक्रिया