– नरेश केसी
भैरहवा, २६ वैशाख । नेपाल सरकारले २५६० औं बुद्धजयन्तीलाई विगतका बुद्धजयन्ती भन्दा अत्यन्तै भब्य र सभ्य रुपमा सफल बनाउन लागिपरेको छ ।
बुद्धजयन्तीको अवसर पारेर सरकारले संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन र चिनीयाँ राष्ट्रपति जि पींग लगायत विशिष्ट पाहुनाहरुलाई लुम्बिनी आउने निम्तो समेत दिएको छ ।
सरकारले वृहत तयारी गरिरहेको बताएपनि बुद्धजन्मस्थल लुम्बिनीमा कुनै तयारी छैन । बुद्धजयन्ती आउन अब १० दिन मात्रै बाँकी छ तर लुम्बिनीमा कुनै तयारी देखिँदैन । लुम्बिनीमा सरसफाई, रंगरोगन, सुरक्षा सर्तकता देखी लिएर मिडीया अपडेट, सूचना अपडेट केही पनि सुरसार अझै भएको छैन ।
सरकारका विभागीय मन्त्री आनन्द प्रसाद पोखरेल यहि जेठ ६, ७ र ८ गते हुने ३ दिवसीय २५६० औं अन्तराष्ट्रिय बुद्धजयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर लुम्बिनी नेपाल, द बर्थ प्लेस अफ लर्ड बुद्ध एण्ड फाउन्टने अफ लुम्बिनी भन्ने नारालाई अन्तराष्ट्रियकरण गर्न खोजिरहेका छन् । यसरी विभागीय मन्त्रीले आफ्नो प्रतिष्ठाको विषय बनाएर २५६० औं बुद्धजयन्ती सफल बनाउन माथिल्लो तहबाट दिनरात खटिएतापनि लुम्बिनी विकास कोषका पदाधिकारी भने उनको योजना तुहाउन लागीपरेको देखिन्छ । कोषका केही पदाधिकारीहरु त बुद्धजयन्तीलाई असफल पार्न नै लागेको बुझिएको छ । स्रोतका अनुसार विगतका वर्षमा बजेट अभावका कारण बुद्धजयन्ती खल्लोे हुने गरेको थियो । अहिले विगतको विश्लेषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले बुद्धजयन्तीकोलागी चाहिए जत्ति बजेट दिने बचन दिएपछि कोषका केही पदाधिकारी अत्तालिएका छन् । लुम्बिनी आफ्नो गृह क्षेत्र समेत भएकोले अर्थमन्त्री पौडेलले लुम्बिनीमा हुने कुनै पनि कार्यक्रम बजेट अभावमा असफल हुन नदिने बताएपछि असफलताको स्रोत खोज्नेहरुले अर्को सूत्र प्रयोग गर्न थालेका छन् ।
लुम्बिनी विकास कोषका केही पदाधिकारी र केही कर्मचारी बुद्धजयन्तीलाई कसरी खल्लो र असफल बनाउने भन्ने ध्याउन्नमा जुटेको बुझिएको छ । विकास कोषका एक अधिकृतले नाम नखुलाउने शर्तमा भने “के गर्नु सर यति ठूलो कार्यक्रम छ । पदाधिकारीहरुबीच मेल छैन । केही पदाधिकारी र केही कर्मचारी बुद्धजयन्तीलाई असफल पार्न नै लागिपरेका छन् ।”
बुद्धजयन्तीकोलागी सरकारले १ करोड, नेपाल पर्यटन बोर्डले १ करोड, लुम्बिनी विकास कोषले १ करोड र बाह्य दातृ निकायको सहयोगगरी कुल ८ करोड बजेट विनियोजन भएको छ । विकास कोषका केही पदाधिकारी र कर्मचारी त्यो बजेट कसरी अपचलन गर्ने भनेर दिमाग खियाईरहेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव, चिनीयाँ राष्ट्रपति , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघहे, विहारका मुख्यमन्त्री नितीश कुमार र युनेस्कोका डाइरेक्टर जनरल इरीनिया बेकाभालाई पनि सरकारले बुद्धजयन्तीमा निमन्त्रणा गरेको छ ।
बुद्धजयन्तीका अवसरमा श्रीलंका, म्यानमार, थाइल्याण्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापन, भुटान, दक्षिण कोरिया, लाओस, मंगोलिया र इजरायलका संस्कृति तथा धार्मिक मामाला मन्त्रीहरु पनि सहभागी हुदैछन् । श्रीलंका, म्यानमार, भारत, चीन, भियतनाम, कम्बोडिया, जापन, भुटान, दक्षिण कोरिया, लाओस, मंगोलिया, सिंगापुर, इन्डोनेसिया, मलेसीया, बंगालादेश, रुस, जर्मनी, फ्रान्स, अष्ट्रीया, क्यानडा, बेलायत, र संयुक्त राज्य अमेरिकाका राष्ट्रिय बौद्ध संघसंस्थाहरुका पनि प्रमुख सहभागी रहने पक्कापक्की जस्तै छ तर अहिले सम्म लुम्बिनी सुनसान छ ।
देश विदेशका भिभिआइपीहरु उपस्थित हुने उक्त कार्यक्रममा सरसफाई प्रमुख कुरा हो । तर विकास कोषले अहिले सम्म मायादेवी मन्दीरको रंगरोगन र केन्द्रिय नहर, पोखरी तथा रयाली हिड्ने क्षेत्रको सरसफाई शुरु नै गरेको छ । मायादेवी मन्दिर पुरानो र जीर्ण देखिएको छ । त्यसको मर्मत सम्भार र रंगरोगनमा कोषले कुनै तदारुकता देखाएको छैन । यति ठूलो कार्यक्रम भइरहदा पनि कोषका पदाधिकारीले “राजाको काम कहिले जाला घाम” भने झँै गरी काम गरिरहेका छन् ।
लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिर र लुम्बिनीको सरसफाईकोलागी कोषले बोलपत्र आह्वान गरेपनि कसैले नभरेको कोषका योजना प्रमुख इमानसिंह मुक्तानले बताए । मुक्ताने भने “बुद्ध जयन्ती नजिकन लाग्यो अहिले सम्म कसैले बोलपत्र भरेन । अब सार्वजनिक खरिद विनियम अन्र्तगत टुक्रा टुक्रा काम बनाएर दिने सोचमा छाँै । ”
कोषले २०७२ चैत्र २८ गते १५ लाख ९५ हजार एक कोलम र १४ लाख २५ हजार को अर्को कोलमगरी कुल ३० लाख २० हजारको बोलपत्र आहवन गरेको थियो । १५ दिने म्याद राखी आह्वान गरिएको सो बोलपत्र अनुसार मायादेवी मन्दिर रंगरोगन र पोखरी तथा केन्द्रिय नहरको सरसफाई थियो । तर १५ दिनसम्म पनि कसैले बोलपत्र भरेन । दोस्रोपटक कोषले २०७३ बैशाख १५ गते पुनः ३ दिने बोलपत्र आहवन गरयो । यो समयमा पनि कोही नआएपछि कोषले कसैले बोलपत्र भरेनन भनि कार्यकारणीमा पठाएको योजना प्रमुख मुक्तानले जनाए । लुम्बिनी बुद्धजयन्ती समारोह प्रबन्ध उपसमितीका संयोजक समेत रहेका मुक्तानका अनुसार कार्यकारणीले बुद्धजयन्ती नजिकई सकेकोले जसरी पनि सफाई र रंगरोगन गर्नुपर्ने हुदां टुक्राएर काम गराउने आदेश आएको छ ।
लुम्बिनीको सानो सानो काममा बोलपत्र भर्न तछाडमछाड गर्ने ठेकेदारहरु किन यो बोलपत्र नभरेका होलान् भनी हामीले लामो समयदेखी लुम्बिनी क्षेत्रमै काम गर्दै आएका एकजना ठेकेदारलाई सोधेका थियौं । उनका अनुसार लुम्बिनी विकास कोषमा सबै जना काम गर्न चाहन्छन् तर त्यहाँ कमिसनको खेलको कारण मुख्य समस्या छ । अर्कोतर्फ यो काममा कोषकै केही पदाधिकारी र केही कर्मचारी नै सरसफाई र मायादेवीको रंगरोगन नहोस् भन्ने चाहेको पनि उनले रहस्य खोले ।
सौताको रिसले पोईको काखमा पिसाब फेर्ने भने झै विकास कोषका केही पदाधिकारीहरु आफुहरुबीचको बेमेल र झगडा तथा स्वार्थको कारण यति ठूलो महत्वको बुद्धजयन्तीलाई नै असफल पार्न लागेका छन् । यस तर्फ सरकार, सम्बन्धित मन्त्रालय, विभागले ध्यान दिनु जरुरी छ ।
सरकारले काठमाण्डौं बबरमहलमा सचिवालय खोली काम शुरु गरेको जनाएको छ । बबरमहलमा पनि काम भन्दा बढी गफ हुने गरेका छन् । यता सम्मेलनको लागी मन्त्री पोखरेलको संयोजकत्वमा १२ वटा उपसमितीहरु समेत गठन भएका छन् ।
प्रा.डा. नरेशमान बज्राचार्यको संयोजकत्वमा गोष्ठी व्यवस्थापन उपसमिती, ओमप्रसाद अर्यालको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिती, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी २ वटा सुरक्षा उपसमिती, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालको संयोजकत्वमा शिष्टाचार उपसमिती, इमानसिंह मुक्तानको संयोजकत्वमा लुम्बिनी बुद्धजयन्ती समारोह प्रबन्ध उपसमिती र स्वयंसेवक परिचालन उपसमिती, डा. तीर्थमान शाक्यको संयोजकत्वमा गौतमबुद्ध इन्टरनेशनल पीस प्राइज कमिटी, वि.के श्रेष्ठको संयोजकत्वमा आतिथ्यता उपसमिती, मधुसुदन आचार्यको संयोजकत्वमा यातायात–परिवहन उपसमिती, धर्मराज शाक्यको संयोजकत्वमा हस्तकला प्रबद्र्धन उपसमिती, अजितमान तामांगको संयोजकत्वमा धार्मिक सांस्कृतिक उपसमिती र नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीको संयोजकत्वमा प्रचार प्रसार उपसमिती गठन भएका छन् ।













प्रतिक्रिया