१७ कार्तिक २०८३, मंगलबार

सिन्धुलीमा देवीस्थान विद्यालयको २८ औँ वार्षिकोत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dumja-schoolसिन्धुली, २५ वैशाख । सिन्धुली जिल्ला कुशेश्वर दुम्जा–५ बालुवाटारस्थित देवीस्थान उच्च माध्यमिक विद्यालयको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाइएको छ ।

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला शिक्षा, जागरण र सशक्तिकरणमा योगदान पुर्याएवाफत रामप्रसाद कोइरालालाई प्रदान गरिएको सम्मान उहाँको अनुपस्थितिमा कुशेश्वर विद्यापीठ उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद कोइरालालाई हस्तान्तरण गरिएको थियो । आजभन्दा आधा शताब्दीअघि समाजका अनेकन प्रश्नका वावजुद पनि छोरी र बहिनीलाई विद्यालय पठाएर कुशेश्वर दुम्जा ३ भञ्ज्याङ्गका रामप्रसाद कोइरालाले महिला शिक्षालाई प्रोत्साहन गर्ने कार्यको थालनी गर्नुभएको थियो ।

यसैगरी, देवीस्थान उमाविको विकासमा सहयोग पुर्याउने तथा राष्ट्रसेवाको क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रमुख अतिथि प्रा.डा.कोइरालाले शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीका उपनिर्देशक तथा पूर्व जिसिअ यमबहादुर खड्का, शैक्षिक तालिम केन्द्र धनुषाका वरिष्ठ प्रशिक्षक तथा पूर्व जिशिअ चन्द्रप्रसाद लुइँटेल र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उप–निर्देशक तथा पूर्व जिशिअ विजय आचार्यलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

यसैगरी, कक्षा ८ को जिल्लास्तरीय परीक्षामा ९४ प्रतिशत अंक ल्याई विद्यालय प्रथम गर्ने रोशनी घिसिङ र ९३ प्रतिशत ल्याइ द्वितीय स्थान ल्याउने सविना पौडेललाई प्रमुख अतिथि प्रा.डा. कोइरालाले स्व.मिनबहादुर श्रेष्ठ स्मृति छात्राबृत्ति प्रदान गर्नुभयो । स्व.श्रेष्ठका छोराबुहारी ई.प्रेमबहादुर श्रेष्ठ र डा.संगीता श्रेष्ठले २०७१ सालमा छात्रबृत्तिका लागि एक लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

यसैगरी, जिल्ला शिक्षा अधिकारी बद्री पाठकले विद्यालयको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभयो ।

यसैगरी, विद्यालयलाइ जग्गादान गर्नुहुने उपेन्द्र प्रधान, प्रमुख अतिथि प्रा.डा.कोइराला, जिल्ला शिक्षा अधिकारी बद्री पाठक, पूर्व जिशिअ यमबहादुर खड्का, चन्द्रप्रसाद लुइटेल, कलाकार सुरेम देसारलगायत कलाकारहरूलाई विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कौशल कोइरालाले मायाको चिनो प्रदान गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जादुगर कमल बस्नेतले विभिन्न जादुकला प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्नुभयो ।

यस्तै, लोकगायिका जमुना आचार्यले जनसमुदायलाई नाचाउनुभएको थियो । नवनायक रवी आचार्यको अभिनय प्रस्तुति रोचक थियो । कार्यक्रममा मिस तामाङकी टप सेभेन फाइनलिस्ट मनिषा लामाको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका बालबालिकाले लोक तथा बालनृत्यहरु प्रस्तुत गर्नुभएको थियो ।