काठमाडौँ, १९ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपति मन्दिर दर्शनका कारण सोमवार बिहान ८ बजेदेखि १०ः३० सम्म पशुपतिको ढोका बन्द गरिँदा दिउँसोदेखि मन्दिरमा सर्वसाधारणको भीड लागेको छ ।
सर्वसाधारणले मोदीलाई स्वागत गर्न खोजेपनि प्रहरीले रोकेपछि सडकभन्दा टाढै बसेर मोदीलाई ताली बजाई स्वागत गरेका थिए । मन्दिरमा सवा घण्टा दर्शन र पूजा गरेर फर्किएपछि भने प्रधानमन्त्री मोदीले पशुपतिको मूलद्वारदेखि भुवनेश्वरी मन्दिरसम्म पैदल हिँडेर सडकमा उभिएका नेपाली नागरिकबाट अभिवादन ग्रहण गर्नुभएको थियो ।
साउनको सोमबार भएकाले पशुपतिमा आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो । दर्शन गर्न आएका भक्तजनलाई साढे दुई घण्टासम्म कुराइदिँदा कति भक्तजन भने आक्रोशित बनेका थिए ।
आठ बजेदेखि पशुपति पश्चिमद्वारबाटै भक्तजनलाई फर्काइएपछि । भारतीय प्रधानमन्त्री मोदी पशुपति दर्शनका लागि भित्र प्रवेश गर्दा सडकमा जम्मा भएका मानिसले ताली बजाएर खुसी व्यक्त गरेका थिए ।
साढे १० बजे प्रधानमन्त्री मोदी फर्केपछि भने पशुपतिमा बोलबम यात्री र दर्शनार्थीको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिनुभयो ।
साउनको तेस्रो सोमबार आज बृहस्पति उदाएको पहिलो दिन भएकाले पनि पशुपतिमा भक्तजनको भीड लागेको हो । यसअघि असार २७ गते अस्त भएको बृहस्पति आजदेखि पूर्वबाट उदाएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
पशुपति परिसरमा भारतीय सञ्चारमाध्यमको भीडभाड पनि बाक्लै देखिन्थ्यो । नेपाली सञ्चारमाध्यमको उपस्थिति पनि उल्लेख्य थियो तर सञ्चारमाध्यमलाई समाचार सङ्कलनका लागि भने सहजरुपमा प्रवेश नदिएको गुनासो सञ्चारकर्मीले गरिरहेका थिए ।
यसैबीच, आजै भोलेनाथ काँवरिया सङ्घले सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म बोलबम यात्रा सम्पन्न गरेका छन् । हजारौँ बोलबम यात्रीले आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिमा अर्पण गरेका छन् ।
साउनको तेस्रो सोमबार आज पशुपतिमा व्रत बसेका महिलाको पनि भीड लागेको छ । आफ्नो कामना पूरा हुने विश्वासमा हिन्दू नारी साउनको सोमबार व्रत बसी शिवालयमा पूजाआजा गर्ने गर्दछन
















प्रतिक्रिया