
अर्जेन (जर्मनी), १३ बैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइतबारदेखि जर्मनीको भ्रमण सुरु गर्नुभएको छ ।
राष्ट्रपति बाराक ओबामालाई जर्मन चान्सलर एन्जेला मर्केलले दुईपक्षीय वार्तालाप हुनुपूर्व जर्मनीको हरेनहसेन प्यालेसमा ठूलो सम्मानकासाथ स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति ओबामाले आफ्नो जर्मनी बसाइँमा युरोप–अमेरिकाबीचको व्यापारिक सम्झौता निर्माण गर्न उपयोग गर्ने विश्वास लिइएको छ ।
अमेरिकी राष्ट्रपतिको जर्मनी बसाइँमा जर्मन चान्सलर एन्जेला मर्केलसँग इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको अभियान, आतङ्कवाद विरुद्ध गरिने सहकार्यमा सुधार र कानुनी सूचना आदानप्रदान गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गएको महिनामा ब्रसेल्स आक्रमणमा परी ३० जनाको ज्यान गएको घटनामा आईएस समूहले जिम्मेवारी लिएको छ यस कारण पनि युरोपमा आतङ्कवादविरोधी गतिविधि बढेको भन्दै राष्ट्रपति ओबामाले यस प्रसङ्गद्वारा युरोपमा अमेरिकी सहकार्यको औचित्यता पुष्टि गर्ने अवसर रहेको विश्लेषकहरू बताउछन् ।
राष्ट्रपति ओबामाले जर्मन चान्सलर एन्जेला मर्केलद्वारा शरणार्थी समस्या समाधानमा इमान्दार तथा साहसी कदमको पनि प्रशंशा गर्न चाहेको अमेरिकी स्रोतले बताएको छ ।
मर्केलको हजारौँ सिरियाली द्वन्द्वपीडित शरणार्थीलाई जर्मनीमा बसोबास गर्न दिने घोषणाले जर्मनीमा उहाँविरुद्धका आवाज घनारुपमा सुनिन थालेका छन् ।
उहाँको यस कदमको विश्व समुदायबाट प्रशंसा पनि आएका छन् ।
जर्मन चान्सलरले शरणार्थीलाई युरोप भित्रन दिने कदमपछि कैयौँ युरोपेली राष्ट्रले यसको कटुआलोचना गर्दै शरणार्थीको चापलाई टर्कीबाटै नियन्त्रण गर्न दबाब पनि दिएको छ । फलस्वरुप मर्केलले टर्कीसँग यस सम्बन्धमा एक सहमति गरी गैरकानुनी रुपमा युरोप छिर्ने आप्रवासीको चापलाई टर्कीबाटै नियन्त्रणको प्रयास गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएका छन् ।
युरोप तथा वाशिङटनका वार्ता मध्यस्थकर्ताले सन् २०१६ को अन्त्यपूर्व नै व्यवसायिक सम्झौता गर्नुपर्ने भन्दै छलफललाई सघनरुपमा अघि बढाएका हुन् ।
अमेरिकी राष्ट्रपति ओबामा सम्झौताको पक्षमा भएको तर उहाँको कार्यकाल सन् २०१७ को जनवरीमा सकिने हुँदा यस अगावै सम्झौता नगरेमा यस विषयले थप केही वर्षको समय लिने जनाउँदै यसलाई सन् २०१६ भित्रै टुङ्ग्याउनुपर्ने युरोप तथा अमेरिकी वर्तमान नेताहरुको छ ।
तर ओबामाको जनवरीमा कार्यकाल पूरा भएका कारण हुने बर्हिगमनपछि आउने उत्तराधिकारीले विषयलाई थप लम्ब्याउन सक्ने सम्भावना भएकाले यसलाई ओबामाको कार्यकालमा नै टुङ्ग्याउनुपर्ने उनीहरुको भनाइ छ ।
ओबामा पनि अमेरिकी कँग्रेसले आफ्नो कदमलाई अनुमोदन गर्ने नै छ भन्ने निश्चित नहुँदा पनि सम्झौता गर्ने कुरामा प्रतिबद्ध देखिनुभएको छ ।
उहाँद्वारा गरिएको व्यावसायिक सम्झौताको थालनीको ओबामाको उत्तराधिकारी सरकारले छिट्टै कार्यान्वयनमा लाने अमेरिकी राष्ट्रपतिको विश्वास छ । रासस/एएफपी















प्रतिक्रिया