काठमाडौ, १० बैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले आगामी तीन वर्षभित्रमा सबै भूकम्प पीडितहरुको घर निर्माण कार्य सम्पन्न हुने दाबी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘आगामी तीन वर्षभित्र सबै भूकम्प पीडितहरुको घर बन्छ । प्राधिकरणको अवधि पाँच वर्षको भएपनि चार वर्षभित्र यसले सबै काम सक्छ ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा प्रवक्ता थपलियाले मन्त्रिपरिषद सरह निर्णय गर्ने गरी प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेको निर्देशक समिति गठन गरिएकोले निर्णय लिन सजिलो भएको उल्लेख गर्दै अहिलेसम्म ७ वटा कार्यविधि निर्माण गरिएको, ११ जिल्लाको हाउसहोल्ड सर्वे सकिएकोले अब अनुदानको पहिलो किस्ता वितरणको अन्तिम तयारीमा रहेको बताए ।
उनले सम्बन्धित गाविसहरुमा बैंक नहुँदा रकम वितरणमा समस्या भएको भन्दै अब केही समयमा सबै भूकम्प पीडितलाई पायक पर्ने बैंकको खातामा रकम पुर्याउने तयारी भईरहेको जानकारी दिए ।
फागुन ३० गतेबाटै दोलखाको सिंगटीबाट अनुदान रकम वितरण सुरु गरिए पनि बैशाख १२ गतेबाट प्रत्येक निर्वाचन क्षेत्रमा एक गाविस पर्ने गरी अनुदान सम्झौता सुरु गर्ने बताए ।
उनले हाउस होल्ड सर्वे भईसकेका जिल्लाहरुमा भूकम्प पीडितले आफै घर बनाए पनि अनुदान रकम पाउने जानकारी दिदै सर्वे गर्ने काममा ढिलाई भएकोले अनुदान दिने काम पनि ढिलाई हुन पुगेको बताए ।
थपलियाले अहिलेसम्म दाता सम्मेलनमा प्रतिबद्धता ब्यक्त भएको ४ दशमलब १ विलियन डलर मध्ये आधा रकम प्राप्त भईसकेको जानकारी समेत साक्षात्कारमा दिए ।
कृषि मन्त्री हरिबोल गजुरेलले पुनःनिर्माणको कामलाई अगाडि बढाउन ऐन कानून र कार्यकारी अधिकृत नियूक्तीमा समयमै राजनीतिक सहमति जुटाउन नसक्दा ढिलाई भएको स्विकार्दै यसमा क्रमैसँग काग्रेस, एमाले र एमाओवादी पहिलो, दोस्रो र तेस्रो दोषी भएको बताए ।
उनले भने, ‘भूकम्प पछिको पुनःनिर्माणमा उद्दारको बेला जस्तो तत्परता नभएको स्विकार गर्नु पर्छ । कसैले कसैलाई दोष देखाएर उन्मुक्ती पाउँदैन । पुनःनिर्माण ढिलाई हुनु मा दोषी हामी सबै छौ । पहिलो नम्बरमा कांग्रेस दोषी छ, दोसो नम्बरमा एमाले र तेस्रो नम्बरमा एमाओवादी दोषी छ । हामी त्यसको जिम्मेवारी लिन्छौ ।’
मन्त्री गजुरेलले भूकम्पबाट सबैभन्दा बढी किसान प्रभावित भएपनि अहिलेसम्म ५ करोड डेढलाख बजेट मात्रै आएको गुनासो गर्दै आगामी बजेटमा त्यसको लागि नयाँ कार्ययोजना बनाईरहेको बताए ।













प्रतिक्रिया