२५ कार्तिक २०८३, बुधबार

कम्युनिष्ट दिवसमा प्रचण्डको नयाँ सन्देश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao

काठमाडौँ, १० वैशाख । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण क्रान्तिकारी, देशभक्त एवम् परिवर्तनकारी शक्तिलाई एकताका लागि आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा तत्कालीन सोभियत सङ्घका नेता भिआई लेनिनको १४६औँ जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरण आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन् ।

अध्यक्ष दाहालले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको दिशामा अघि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ ।’

लेनिनको जन्मजयन्तीको अवसर पारेर ६७ वर्षअघि २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको उल्लेख गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलन अनेकौँ आरोह र अवरोह छिचोल्दै अघि बढिरहेको र मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनमा उल्लेख्य योगदान गरेको स्मरण गरे ।

जनयुद्ध र जनआन्दोलन हुँदै कम्युनिस्ट आन्दोलन अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको प्रचण्डको ठहर छ ।

उनले जनयुद्धको जगमा भएको जनआन्दोलनले राजतन्त्रलाई अन्त्य गरी संविधानसभाद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशीतालगायतका राजनीतिक उपलब्धि सुनिश्चित गरेको तथा समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न महत्वपूर्ण आधार तयार गरेको उल्लेख गरेका छन् ।

पार्टी स्थापना दिवस र लेनिन दिवसको यो ऐतिहासिक अवसरमा देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट तथा वामपन्थी प्रगतिशील शक्तिबीचको एकता र ध्रुवीकरणले मात्रै मुलुकका तमाम समस्याको हल हुने अध्यक्ष दाहालको भनाइ छ । रासस