३० आश्विन २०८३, शुक्रबार

सुनकोसी विपतः विभिन्न जिल्लामा बाढी आउने डरले आतंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkosi-1

काठमाडौं १७ साउन । सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरोबाट थुनिएको सुनकोसी नदीबाट ‘ओभरफ्लो’ भएर पानी बग्न थालेपछि विभिन्न जिल्लाका बासिन्दा आतंकित भएका छन् ।

नेपाली सेनाको एक टोलीले रोवट बोटमार्फत बम विस्फोट गराएपछि थप पानी बग्न थालेको हो । अहिलेकै अवस्थामा पानी बग्ने हो भने पनि सुनकोसी स्वभाविक बहावमा बग्न अझै १० घन्टा लाग्ने अनुमान गरिएको छ ।

पहिरोमा फसेका स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेका छन् ।

राम्चे गाविस–५ मा रहेको इटिनी भीर खसेर सुनकोसी थुनिएको हो । नदी थुनिएको स्थानमा फेरि पानी पर्न थालेको छ । नदी थुनिएको स्थानबाट करिब चार किलोमिटर माथिसम्म पानी जमेर तलाउ बनेको छ ।

पानी जमेपछि ढस्कुन गाविसस्थित सुनकोसी किनारमा सानिमा हाइड्रो पावरको सुनकोसी परियोजना २.५ मेगावाट क्षमताको विद्युत् गृह डुबानमा परेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो ।

स्थानीय प्रशासनले लामो साँघु, खाँडीचौर, कोठे, बलेफी, सिकुटे, बनदेउसम्मका नदी किनारका स्थानीय सतर्क रहन आग्रह गरेको छ ।

राम्चे गाविस–४ को ओखरबोटे, सोही गाविस–९ को पातलेको जमिन पनि चर्केपछि स्थानीयको भागाभाग भएको छ । सो स्थानमा सुख्खा पहिरो गएको बताइएको छ ।

पूर्वको सात जिल्लामा उच्च सुरक्षा सतर्कता

सुनकोसबाट निस्केको पानीबाट पुग्ने क्षतिलाई मध्यनजर गर्दै  सप्तकोसी आसपासका सात जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

अहिले कोसी ब्यारेजका ५६ ढोका नै खुला गरिएको छ । यसअघि २०६५ भदौ २ गते पनि सबै ढोका खेलिएका क्यारेज नियन्त्रण कक्षका इन्जिनियर विमल कुमारले बताउनुभयो ।

पूर्वी नेपालको सप्तकोसी नदीसँग जोडिएका सुनसरी, भोजपुर, धनकुटा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लाका कोसी आसपासका गाविसमा उच्च सुरक्षा सतर्कता उपनाइएको पूर्वाञ्चालनका क्षेत्रीय प्रशासक महाश्रम शर्माले जानकारी दिनुभयो ।

उहाँले सबै जिल्लाका सप्तकोसी नदीको २०० मिटर  आसपासमा रहेका ५१ गाविसका बासिन्दालाई सुरक्षित स्थानतर्फ जानसमेत आग्रह गरिसकिएको बताउनुभयो । पूर्वी नेपालका सात जिल्लामध्ये सुनसरी र सप्तरी सबैभन्दा बढी जोखिममा रहेको बताउँदै उहाँले ती जिल्लामा विशेष निगरानीमा राखिएको बताउनुभयो ।

क्षेत्रीय प्रशासक शर्माका अनुसार सुनसरीका नौ, सप्तरीका नौ, उदयपुरका १३, खोटाङका १४, ओखलढुङ्गाका ३ र धनकुटाका २ गाविसमा क्षति पुग्ने भएकाले सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको र सबै जिल्लामा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसिसकेको पनि क्षेत्रीय प्रशासक शर्माले जानकारी दिनुभयो । कोसीले प्रभाव पार्ने क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तयारी अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।

यसैबीच, सप्तकोसी नदीमा पानीको बहाव भने पछिल्लो समयमा आएर घटिरहेको कोसी ब्यारेज प्रहरीले बताएको छ । अहिले कोसी नदीमा एक लाख २८ हजार ९३० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको प्रहरी नायब निरीक्षक खगेश्वर खतिवडाले जानकारी दिनुभएको छ ।

शुक्रबार सप्तकोसी नदीमा एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रेकर्ड भएको थियो ।

खोटाङमा पनि त्रास

खोटाङको १४ गाविसका २५ गाउँ तथा बस्तीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सम्भावित खतरालाई मध्यनजर गर्दै नदीको दायाँबायाँबाट २०० मिटर क्षेत्रभित्र पर्ने गाउँ तथा बस्तीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

सम्भावित दुर्घटनाबाट जनधनको सुरक्षाका लागि आज बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले सुनकोसी आसपासका बाहुनीडाँडाको कुर्लेघाट, डिकुवाको टारगाउँ, चारबोटे, डिकुवाको बाइटार र राईघाट, च्यास्मिटारको बालुङमारी, दुर्छिमको हैदे, धितुङको भाडबेँसी गाउँलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

यस्तै, राजापानीको भाडबेँसी, गोडेलीघाट र रेग्मीटार, लिच्कीराम्चेको रमाइलो, टेम्कुटार र रसुवाघाट, बराहपोखरीको भोर्लेनी, सुन्तलेको धाप्लाङ, फाक्टाङको माङ्सिङ्टार, मालबासे र अर्नाटार, पौवासेराको पानीटार तथा देविस्थानको बुवाजोरघाट, बुवाँबाँध र मैनटारलाई सङ्कटग्रस्त क्षेत्रको रुपमा सिफारिस गरिएको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले समस्या हल नभएसम्म जिल्ला प्रशासन कार्यालयमा कमाण्डपोस्ट खडा गरेको छ ।

विपद् व्यवस्थापनका लागि जिल्ला आपत्कालीन उद्धार केन्द्रलाई थप क्रियाशील रहन भनिएको छ । समितिले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

यस्तै, सम्भावित दुर्घटनाको सामना गर्न रेडक्रस, खाद्य संस्थान, अस्पताल, गैरसकारी सङ्घसंस्था, राजनीतिक दल, पत्रकारलगायतलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिनुभयो ।

सम्भावित दुर्घटनाबाट धनजनको सुरक्षाका लागि प्रशासन, जिल्ला विकास समिति, सेना, प्रहरीलगायतले सङ्कटग्रस्त क्षेत्रका सर्वसाधारणलाई फोनमार्फत सुरक्षित स्थानमा सर्न आग्रह गरिरहेका छन् ।

खतराको सूचना पाएका नदी किनारका गाउँमा बसोबास गर्दै आएका खोटाङका सर्वसाधारण अहिले बन्दोबस्तीका सामानसहित सुरक्षित स्थानमा सर्ने क्रम जारी छ ।

यसैबीच, नदीको पानी खोलिएर आउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको छ । सर्वसाधारणलाई खाद्यान्न, मूल्यवान सम्पत्ति, बन्दोबस्तीका सामान, घरपालुवा पशुपछीलाई सुरक्षित स्थानमा सार्न र आफू पनि सुरक्षित रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो ।

प्रशासन र प्रहरीले स्थानीय सञ्चारमाध्यमबाट सूचना जारी गर्दै खतरा कायम रहेसम्मका लागि सुनकासी नदीको किनार आसपासमा नबस्न र नजान आग्रह गरेको छ ।

ओखलढुंगाका पाँच गाविस सङ्कटग्रस्त क्षेत्र घोषणा

ओखलढुङ्गाको पाँच गाविसको तटीय क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

विपद् उद्धार समितिको आजको आपत्कालीन बैठकले पलापु, बलखु, सिस्नेरी, टोक्सेल र थाक्ले गाविसको तटीय क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेको हो ।

उक्त गाविसको पलापु–८, नवलपुर, बलखु ६ र ७ को बलखुबेँसी र कटुवाबेँसी, सिस्नेरी–६ को मोलुङदोभान, टोक्सेल १ र २ को हर्कपुर र माझीगाउँ र थाक्लेका ८ र ९ नं वडालाई सङ्कटग्रस्त क्षेत्रको रुपमा लिइएको छ ।

“तत्काललाई नदी किनारदेखि २०० मिटर क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी उक्त क्षेत्रका स्थानीयलाई सार्ने काम भइरहेको छ ।” निमित्त प्रमुख जिल्ला अधिकारी प्रमोद चौधरीले भन्नुभयो, “आवश्यक सम्पूर्ण सतर्कता अपनाउने काम तीव्रगतिमा गरिएको छ ।”

घटनाको पूर्व तयारी एवं घटना भइहालेमा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सुरक्षा निकाय, राजनीतिक दल र सम्बन्धित कार्यालयका प्रतिनिधि सदस्य रहने गरी एक कमाण्डपोस्टसमेत खडा गरिएको छ ।