काठमाडौं, ९ वैशाख । संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपालस्थित कुटनीतिक नियोगका उच्च अधिकारहरूसँगको छलफलमा भारतीय राजदूत रञ्जित रे अनुपस्थित भएका छन् ।
काठमाडौंका लाजिम्पाटस्थित एक होटेलमा भएको छलफलमा राजदूत रे अनुपस्थित रहेका हुन् । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाका अनुसार भारतीय राजदूतावासबाट फष्टसेक्रेटरीसहित दुई जना उपस्थिति थिए । राजदूत रे नआउनुको कारणका विषयमा अध्यक्ष झाले केही बताएनन् ।
‘झण्डै एक दर्जन कुटनीतिज्ञहरू आउनु भएको थियो’, अध्यक्ष झाले भन्नुभयो, ‘हामीले हाम्रो आन्दोलनको अबधारणका विषयमा जानकारी गरायौँ । उहाँहरूले कस्तो खालको आन्दोलन हो भनेर जिज्ञासा राख्नु भएको थियो ।’
संघीय गठबन्धन र मधेसी मोर्चाका नेताहरूसँगको छलफलमा चीनका लागि नेपाल राजदूत उ चुन्ताई मात्रै सहभागी थिए । अमेरिका, भारत र युरोपियन यूनियनका प्रतिनिधिहरू मात्रै सहभागी रहेको बताइएको छ । केही साना मुलुकका भने राजदूतहरू नै आएका थिए ।
कुटनीतिज्ञहरूसँगको छलफलका लागि मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिलकुमार झा, शरतसिंह भण्डारी तथा संघीय गठबन्धनबाट कुमार लिङ्देशनसहितका सीमित नेताहरू गएका थिए ।













प्रतिक्रिया